एकीकृत बजेटबाट मात्रै पर्यटनको दिगो विकास सम्भव छ: मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले एकीकृत बजेट निर्माणमार्फत प्रदेशको पर्यटन क्षेत्रको दिगो विकास हासिल गर्न सकिने बताएका छन् ।
आगामी बजेटमा सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनका विषयमा ‘नाटा’ सुदूरपश्चिम र पर्यटन व्यवसायीहरूसँग आयोजित छलफलमा उनले तीन तहका सरकारले टुक्रे योजना बनाउनुभन्दा उपलब्ध बजेट एकीकृत गरी विकासको नयाँ खाका तयार गर्नुपर्नेमा जोड दिए ।
सुदूरपश्चिममा भारतीय पर्यटकलाई आकर्षित गर्न सक्ने प्रचुर सम्भावना रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनलाई विशेष प्राथमिकता दिने बताएका छन् । प्रदेश सरकारले धार्मिक पर्यटनलाई केन्द्रमा राखेर पूर्वाधार विकास, प्रवर्द्धन र प्रचारप्रसारको कामलाई प्रभावकारी बनाउने उनको भनाइ छ ।
साथै, यस क्षेत्रमा रहेका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूको व्यवस्थित विकासका लागि संघ, प्रदेश, स्थानीय तह र निजी क्षेत्रबीचको सहकार्य अनिवार्य रहेको उनले औंल्याएका थिए ।
सोही छलफलमा पर्यटन व्यवसायीहरूले आगामी बजेटमा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिन, पूर्वाधार विकासमा जोड दिन तथा व्यवसायीमैत्री नीति निर्माण गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस