कश्मीर युद्धमा भारतविरुद्ध पाकिस्तानद्वारा नेटो रणनीति प्रयोग, चीनको संलग्नता सहित सनसनीपूर्ण खुलासा
पाकिस्तानले प्रयोग गरेको हवाई रणनीति नेटोबाट चीन र त्यसपछि पाकिस्तानसम्म पुगेको भनिएको द प्रिन्ट को दाबीले भारतसहित पश्चिमा मुलुकहरूमा थप चासो र सुरक्षासम्बन्धी बहस चर्किएको छ।

केही महिनाअघि भारत र पाकिस्तानबीच भएको सैन्य भिडन्तका क्रममा पाकिस्तानले चीनबाट सिकेको नेटोको हवाई रणनीति प्रयोग गरेको हुन सक्ने अनुमान गरिएको छ।
विशेषगरी भारतले सञ्चालन गरेको ‘अपरेसन सिन्दूर’ को सुरुवाती चरणमै पाकिस्तानले यस्ता रणनीति अपनाएको भारतीय अनलाइन मिडिया द प्रिन्ट ले दाबी गरेको छ।
द प्रिन्ट का अनुसार, चीनले अघिल्लो दशकदेखि नेटो राष्ट्रका पूर्व पाइलट र सैन्य अधिकृतहरूसँग गोप्य रूपमा हवाई युद्ध रणनीति सिकेको थियो। ती रणनीतिमा सिकेको ज्ञान चीनले पाकिस्तानलाई हस्तान्तरण गरेको विश्वास गरिएको छ । यो अनुमानलेे भारत र पश्चिमा मुलुकहरू दुवैतर्फ चासो र चिन्ता बढाएको छ।
नेटोको प्रख्यात ‘लन्च एन्ड लिभ’ रणनीति अनुसार, आक्रमण गर्ने लडाकू विमानले मिसाइल प्रहार गरेपछि तुरुन्तै कलाबाजी गर्दै आकाशबाट टाढिन्छ, र अर्को विमानले त्यस मिसाइललाई लक्ष्यमा पुर्याउने काम गर्छ । यसरी हवाई आक्रमण गर्दा शत्रुको एअर डिफेन्स सिस्टम छलिने विश्वास गरिन्छ।
दाबी गरिए अनुसार, पाकिस्तानले यही रणनीति भारतमाथिको हालैको कारबाहीमा प्रयोग गरेको हो।
बेलायतको रक्षा मन्त्रालयले सन् २०२२ मै चिनियाँ सेनालाई तालिम दिन ३० जनासम्मका पूर्व ब्रिटिश सैन्य पाइलटहरूलाई आकर्षक पारिश्रमिक दिएर भर्ना गरिएको उल्लेख गरेको थियो । २०२३ मा जर्मन मिडियाले जर्मन पाइलटहरू एक दशकदेखि चिनियाँ पाइलटलाई तालिम दिइरहेको समाचार सार्वजनिक गरेको थियो । यस्तै, सन् २०२४ मा अमेरिकासहित उसका गुप्तचर साझेदारहरूले चीनले पश्चिमी देशका पूर्व तथा वर्तमान सैन्य अधिकारीहरूलाई भर्ना गर्न खोजिरहेको चेतावनी दिएका थिए।
‘द प्रिन्ट’ का अनुसार यही रणनीति पाकिस्तानले कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको जवाफस्वरूप मे ७ मा भारतीय हवाई आक्रमणको प्रतिकारका क्रममा प्रयोग गरेको थियो।
पाकिस्तानले भारतका पाँच लडाकू विमान खसालेको दाबी गर्दै आएको छ । तीमध्ये तीन रफाल, एक मिग-२९ र एक सुखोई सु-३० रहेको भनिएको छ । पाकिस्तानी विदेशमन्त्री इशाक डारका अनुसार, ती विमान चीनमा निर्मित ‘जे-१० सी’ लडाकू विमानमार्फत खसालिएका हुन् । रफाल विमान भारतसँग रहेको सबैभन्दा आधुनिक र शक्तिशाली लडाकू विमान हो । भारतले रफालमार्फत युरोपमा निर्मित ‘एमबिडिए मिटियोर’ मिसाइल प्रयोग गरेको मानिन्छ ।
पाकिस्तानले भने चीनमा निर्मित ‘जे-१० सी’ बाट ‘पिएल-१५’ मिसाइल प्रहार गरेर भारतीय विमान खसालेको दाबी गरेको छ । यी दुई मिसाइल–मिटियोर र पिएल–१५–लाई हालको विश्वमा प्रतिस्पर्धी मानिन्छ।
पाकिस्तानी दाबी सही ठहरिएमा युद्धमा रफाल विमान खसालिएको यो पहिलोपटक हुनेछ । त्यस्तै, जे-१० सी लडाकू विमानद्वारा भारतीय विमान खसालिएको पनि पहिलोपटक हुनेछ । भारतले आफ्ना विमान खसालेको विषयमा अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तर भारतीय सेनाका केही उच्च अधिकारीहरूले विभिन्न अवसरमा विमान खसालेको कुरा स्वीकार गरिसकेका छन्, यद्यपि कुन विमान र कति वटा भन्ने खुलाइएको छैन।
त्यसमध्ये एक इन्डोनेसियास्थित भारतका सैन्य सहचारी क्याप्टेन शिव कुमारले भारत सरकारले पाकिस्तानी सैन्य संरचनामाथि आक्रमण नगर्न आदेश दिएको कारण आफ्ना विमानहरु खसालिएको दाबी गरेका छन् । उनका अनुसार, आतङ्ककारी संरचनामाथि मात्र प्रहार गर्ने आदेशका कारण भारतीय लडाकू विमानहरूले पाकिस्तानी सेना तर्फबाट आक्रमण हुँदा जवाफी कारबाही गर्न सकेनन् ।
भारत र पाकिस्तान दुबै आणविक हतियारधारी मुलुक भएकाले मोदी नेतृत्वको सरकारले सन्तुलन कायम गर्न यस्तो रणनीति अपनाएको हुन सक्ने विश्लेषण गरिएको छ ।
यसै क्रममा, पाकिस्तानले प्रयोग गरेको हवाई रणनीति नेटोबाट चीन र त्यसपछि पाकिस्तानसम्म पुगेको भनिएको द प्रिन्ट को दाबीले भारतसहित पश्चिमा मुलुकहरूमा थप चासो र सुरक्षासम्बन्धी बहस चर्किएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस