संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा चकित पार्ने खुलासा : पाकिस्तानमा ८७ सय आतंककारी सक्रिय

संयुक्त राष्ट्रसंघको प्रतिबन्ध अनुगमन टोलीले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा एक चकित पार्ने तथ्य खुलासा गरिएको छ। प्रतिवेदनमा इस्लामिक स्टेट अफ इराक एण्ड लेभान्त – खोरासन (आईएसआईएल–के) समूहबाट मध्य र दक्षिण एसियामा बढ्दो आतंकवादी खतरा औँल्याइएको छ ।
प्रतिवेदन अनुसार मध्य एशिया र रुसको उत्तरी काकेशस क्षेत्रबाट आएका लडाकुहरूसहित करिब २ हजार स्थानीय आतंककारी आईएसआईएल–के मा संलग्न छन् । साथै, पाकिस्तानमा मात्रै करिब ८ हजार ७ सय आतङ्ककारी उक्त सञ्जालमा आबद्ध भएर क्षेत्रीय आतंक मच्चाउन सक्रिय रहेको उल्लेख गरिएको छ ।
रिपोर्टमा आईएसआईएल–केले अफगानिस्तानका मदरसाहरूमा बालबालिकालाई प्रशिक्षण दिइरहेको र १४ वर्षसम्मका नाबालकहरूका लागि आत्मघाती हमलाका प्रशिक्षण शिविर सञ्चालन गरिरहेको जनाइएको छ ।
यस्तै, अल–कायदा समूहले पनि अफगानिस्तानमा आफ्नो प्रशिक्षण गतिविधि जारी राखेको छ । तीमध्ये केही शिविरले तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) का लडाकुहरूलाई तालिम दिइरहेका छन् । रिपोर्ट अनुसार टीटीपीसँग करिब ६ हजार लडाकु छन्, जसलाई अफगान सरकारका केही अधिकारीहरूले समेत समर्थन गरिरहेको आरोप लगाइएको छ। साथै, टीटीपी र आईएसआईएल–केबीच रणनीतिक सम्बन्ध रहेको उल्लेख छ।
टीटीपी अहिले अत्याधुनिक हतियार प्रयोग गरेर ठूला आक्रमणहरू गरिरहेको छ भने बलुचिस्तानमा रहेको शिविरमा बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) का लडाकुहरूलाई पनि तालिम दिइँदैछ । बीएलए अन्तर्गतको माजिद ब्रिगेडले टीटीपी र अल–कायदासँग मिलेर दक्षिणी अफगानिस्तानमा तालिम केन्द्र सञ्चालन गरिरहेको छ।
गत मार्च ११ मा बीएलएले पाकिस्तानी रेल अपहरण गरी ३१ जनाको हत्या गरेको घटना पनि प्रतिवेदनमा उल्लेख छ।
विश्लेषकहरूका अनुसार पाकिस्तान सरकारको आतङ्ककारीहरू प्रति देखिएको नरम रवैया अब आफैँलाई महँगो पर्ने स्थितिमा पुगेको छ । ती आतङ्ककारीहरूले अफगानिस्तानको भूमि प्रयोग गरेर पाकिस्तानमै आक्रमण गरिरहेका छन् । बलुचिस्तानलगायतका क्षेत्रमा स्वन्त्रताको माग पनि तीव्र बन्दै गएको प्रतिवेदनमा उल्लेख छ।
तपाईको प्रतिक्रिया दिनुहोस