अमेरिका–कोरिया नयाँ सम्झौता: ३५० अर्बको लगानी, ट्रम्पको दबाब कति सफल?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र दक्षिण कोरियाबीचको सम्बन्ध ‘निकै राम्रो’ रहेको बताएका छन्। ट्रम्पको यो टिप्पणी अमेरिका र दक्षिण कोरियाबीचको नयाँ व्यापार सम्झौता सार्वजनिक भएपछि आएको हो।
केही महिनादेखिको महसुलसम्बन्धी वार्ता पछि बिहीबार दुबै देशबीच नयाँ व्यापार सम्झौता सम्पन्न भएको हो। उक्त सम्झौताअनुसार अमेरिकाले दक्षिण कोरियाबाट आउने केही वस्तुहरूमा लाग्दै आएको भन्सार महसुल २५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याएको छ।
यसको बदलामा दक्षिण कोरियाले आगामी चार वर्षभित्र अमेरिकामा ३५० अर्ब अमेरिकी डलर लगानी गर्ने र अमेरिकी ऊर्जा उत्पादनहरू १०० अर्ब डलर बराबरमा किन्न सहमति जनाएको छ।
एक पत्रकारको प्रश्नमा जवाफ दिँदै राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङसँग दुई साताभित्र ह्वाइट हाउसमा भेटवार्ता हुने जानकारी समेत दिए। योनहाप समाचार एजेन्सीका अनुसार ट्रम्पले भने, “दक्षिण कोरियासँग हाम्रो राम्रो सम्बन्ध छ।”
दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले पनि बैठकको मिति टुंगो लगाउने विषयमा वार्ता भइरहेको पुष्टि गरेका छन्।
यता, दक्षिण कोरियाली सरकारका अनुसार नयाँ व्यापार सम्झौतामा ‘चामल बजार’ सम्बन्धी कुनै नयाँ व्यवस्था गरिएको छैन। कोरियाली अर्थ, उद्योग तथा कृषि मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “कोरिया–अमेरिका व्यापार सम्झौता चामलसँग सम्बन्धित छैन ।”
यद्यपि स्रोतका अनुसार अमेरिकाले दक्षिण कोरियामाथि चामल बजार तथा ३० महिनाभन्दा पुरानो गाईको मासुमा लगाइएको प्रतिबन्ध हटाउन दबाब दिएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस