एप्पललाई मुद्दा हाल्ने मस्कको धम्कीपछि अल्टम्यानको जवाफी प्रहार

एलन मस्कले हालै एप्पललाई मुद्दा हाल्ने चेतावनी दिएका छन् । त्यसको केही समयमै साम अल्टम्यानले मस्कमाथि जवाफी टिप्पणी गरेका छन्।
मस्कले एक्समा ट्वीट गर्दै, एप्पलले आफ्नो एप स्टोरमा ओपनएआईलाई नम्बर एकमा पुर्याउन रैंकिङमा हेरफेर गरिरहेको आरोप लगाएका थिए । यसपछि अल्टम्यानले मस्कमाथि प्रतिस्पर्धीलाई हानि पुर्याउन एक्सको प्रयोग गर्ने गरेको आरोप लगाएका हुन् ।
अल्टम्यानले मस्कको उक्त पोस्ट रिट्वीट गर्दै लेखेका छन्— "यो दाबी अनौठो छ, किनकि मैले सुनेको छु कि एलनले आफ्नो र आफ्ना कम्पनीहरूको फाइदाका लागि तथा प्रतिस्पर्धी र आफूलाई मन नपर्नेहरूलाई हानि पुर्याउन एक्सलाई हेरफेर गर्छन्।"
यसअघि मस्कले एक्समा लेखेका थिए— "एप्पलको यस्तो व्यवहारका कारण ओपनएआई बाहेक अन्य कुनै एआई कम्पनीका लागि एप स्टोरमा नम्बर एकमा पुग्नु असम्भव छ, जुन स्पष्ट रूपमा एन्टिट्रस्ट उल्लङ्घन हो । यसबारे तत्काल कानुनी कारबाही आवश्यक छ ।"
मस्क र अल्टम्यानबीचको यो सामाजिक सञ्जालमै भएको वाकयुद्धबारे प्रयोगकर्ताहरूले पनि विभिन्न प्रतिक्रिया जनाएका छन् ।
उनीहरू आमनेसामने भएका यो पहिलो पटक भने होइन । मस्कले यसअघि पनि अल्टम्यानमाथि ओपनएआईमा ‘धोका दिएको’ र गैरनाफामुखी कम्पनी बनाउने प्रारम्भिक प्रतिबद्धता विपरीत कार्य गरेको आरोप लगाउँदै आएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस