Techie IT
२०८२ श्रावण ३१, शनिबार

अलास्कामा ट्रम्प–पुटिन वार्ता : युद्धविराममा ठोस सहमति भएन


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्कामा भएको भेटवार्ता प्रगतिउन्मुख भए पनि ठोस सम्झौताबिनै टुंगिएको छ। दुवै नेताले करिब साढे दुई घण्टा व्यक्तिगत गुप्य वार्ता गरेपछि संयुक्त पत्रकार सम्मेलनमा करिब १० मिनेट सँगै उपस्थित भएका थिए।

शुक्रबार भएको वार्तापछि ट्रम्पले युद्धविराम अब युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलिन्स्कीको काँधमा रहेको टिप्पणी गरेका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा उनले “चाँडै नै आफू, पुटिन र जेलिन्स्कीबिच त्रिपक्षीय बैठक हुने” संकेत गर्दै, अन्ततः सम्झौतामा युक्रेनकै सहमति निर्णायक हुने बताए।

ट्रम्पले पुटिनसँगको छलफललाई “१० मध्ये १० अङ्क दिने” भन्दै वार्तालाई सफल भने पनि केही महत्त्वपूर्ण बुँदामा सहमति हुन बाँकी रहेको खुलाएका थिए । उनले सम्झौताका अवरोधबारे प्रष्ट खुलासा गर्न अस्वीकार गरे तर भूमि अदलाबदली र अमेरिकाबाट युक्रेनका लागि सुरक्षा आश्वासन जस्ता विषयमा “धेरैजसो सहमति” भएको जनाएका छन् । पुटिनलाई उनले “बलियो र कडा नेता” भन्दै प्रशंसा गरे ।

पुटिनले भने युक्रेन युद्धलाई “दुःखद घटना” भन्दै यसलाई टुंग्याउने विषयमा गहिरो चासो रहेको बताएका थिए । तर, युद्धका “मूल कारणहरू” समाधान नभएसम्म स्थायी शान्ति सम्भव नभएको उनको भनाइ थियो । उनले युक्रेन र युरोपलाई वार्ता भंग नगर्न चेतावनी दिँदै, अलास्काको भेटलाई “समाधानको सुरुवाती बिन्दु” को रूपमा व्याख्या गरेका छन् ।

दुवै नेताले सम्बन्धलाई “व्यावसायिक” भन्दै सकारात्मक सन्देश दिएका थिए । पुटिनले ट्रम्पको “यदि २०२० को चुनावपछि उनी पदमा निरन्तर रहे युद्ध सुरु नै हुने थिएन” भन्ने दाबीलाई समर्थन गरे।

यद्यपि, ट्रम्पले वासिङ्टनतर्फ फर्कंदै पत्रकारहरूसँग कुरा गर्दै युद्धविराम घोषणा गर्न चाहेका भए पनि त्यो सम्भव भएन । उनले चाँडै नै जेलिन्स्की र युरोपेली नेताहरूसँग सम्पर्क गर्ने घोषणा गरेका छन् । अन्त्यमा, ट्रम्पले पुटिनसँग फेरि छिट्टै भेट हुने अपेक्षा व्यक्त गरे भने पुटिनले जवाफमा “अर्को भेट मस्कोमा” हुने बताएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट