पुटिन–मोदीबीच कारमै ४५ मिनेट लामो छलफल

चीनको तियानजिन सहरमा सम्पन्न साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कारभित्रै ४५ मिनेट लामो विशेष छलफल भएको छ । दुई नेताबीचको यो संवादलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वमा अमेरिकी प्रभुत्वलाई चुनौतीको रूपमा व्याख्या गरिएको छ ।
भेटपछि मोदीले पुटिनसँगको यात्राको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै यसलाई ‘अन्तर्दृष्टिपूर्ण’ भनेका छन् । पुटिनका प्रवक्ताका अनुसार दुवै नेता सहज महसुस गरिरहेका कारण कारमै छलफल जारी राखिएको हो ।
यो भेट त्यही समयमा भएको हो, जब अमेरिकी राष्ट्रपति ट्रम्पले भारतलाई रुसी तेल र हतियार खरिद गरेको आरोप लगाउँदै ५० प्रतिशतसम्मको उच्च महसुल तोकेका छन् । सो महसुलमा युक्रेन युद्धका लागि रुसलाई आर्थिक स्रोत जुटाउने कारोबारमा २५ प्रतिशत जरिवाना पनि समावेश गरिएको छ । तर, हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकाको महत्त्वपूर्ण साझेदार मानिने भारतले रुससँगको खरिद बन्द गर्ने कुनै संकेत दिएको छैन । यस कारण तियानजिनमा भएको पुटिन–मोदीको हार्दिकतालाई ट्रम्पको चेतावनीसँग जोडेर हेरिएको छ ।
यसैबीच, पुटिनलाई ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग वार्ता गर्न समयसीमा तोकेका छन् । तर, रुसले त्यस्तो भेटको योजना नभएको स्पष्ट पारेको छ ।
शिखर सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले युक्रेनी सङ्कट समाधानका लागि चीन र भारतले खेलेको भूमिकाप्रति आभार व्यक्त गरेका थिए । उनले गत महिना अलास्कामा ट्रम्पसँग भएको भेटमा भएको सहमतिले ‘युक्रेनमा शान्तिको बाटो खुल्ने’ आशा व्यक्त गरे।
ट्रम्पले गत अगस्ट २२ मा पुटिनलाई केही हप्ताभित्र जवाफ दिन अल्टिमेटम दिएका थिए। युक्रेन युद्धको सुरुआत २०२२ फेब्रुअरीमा रुसले पूर्णस्तरीय आक्रमण सुरु गरेर भएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस