Techie IT
२०८२ असोज २, बिहीबार

एकाएक अमेरिकी सैनिक बंगलादेशमा


संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सैनिकहरू बंगलादेश पुगेका छन्। सञ्चारमाध्यमका रिपोर्टअनुसार, करिब १२० जना अमेरिकी सैनिक सेप्टेम्बर १० मा चटगाउँ आइपुगेका हुन्। उनीहरू हाल पाँचतारे ‘र्‍याडिसन ब्लू होटल’मा बसिरहेका छन्। सैनिकहरूको लागि ८५ वटा कोठा अग्रिम बुक गरिएको भए पनि होटेलको रजिस्टरमा उनीहरूको नाम दर्ता गरिएको छैन।

अभ्यासमा सहभागी सैनिकहरू सेप्टेम्बर २० सम्म बंगलादेशमै रहने बताइएको छ। सेप्टेम्बर १४ मा इजिप्टको एक सैन्य विमान चटगाउँस्थित शाह अमानत विमानस्थलमा अवतरण गरेको थियो भने त्यसको भोलिपल्ट अमेरिकी सैनिकहरूले बंगलादेश वायुसेनाको पतेंगा एयर बेसको भ्रमण गरेका थिए।

यसअघि पनि अमेरिकी र बंगलादेशी सेनाबीच टाइगर लाइटनिंग र अपरेसन लाइटनिंग नामक दुईवटा अभ्यास भइसकेका छन्। ती अभ्यासको उद्देश्य आपसी तालमेल, शान्ति मिसनको तयारी तथा क्षेत्रीय सुरक्षामा सहयोग गर्ने रहेको थियो। यसै वर्षको सुरुवातमा सिलहटको जलालाबाद क्यान्टोन्मेन्टमा ‘टाइगर लाइटनिंग–२०२५’ सम्पन्न भएको थियो।

स्रोतहरूका अनुसार, हालको अभ्यासअघि कतार र थाइल्यान्डका टोलीहरू चटगाउँ पुगेका थिए। विमान ट्रयाकरहरूले अमेरिकी सेनाका दुई विशेष विमानसहित बंगलादेश प्रवेश गरेको देखाएका छन्। तीमध्ये एक सुपर हरक्यूलिस विमान ‘वाईजे–६९२’ कल साइनसहित शाह अमानत विमानस्थलमा अवतरण भएको पुष्टि गरिएको छ।

सुपर हरक्यूलिस रणनीतिक हवाई यातायात, राहत मिसन र विशेष अभियानका लागि प्रयोग हुने विमान हो। यसले जुनसुकै मौसम र कच्चा रनवेमा पनि सहजै उडान भरन सक्ने विशेषता राख्छ।

अगस्ट ३१ मा ढाकास्थित वेस्टिन होटलमा अमेरिकी विशेष सैन्य बलका अधिकारी टेरेन्स अरवेल ज्याक्सनको संदिग्ध अवस्थामा मृत्यु भएको थियो। अप्रिलमा बंगलादेश आएका ज्याक्सनको मृत्युबारे बंगलादेश वा अमेरिकी सरकारको कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। रिपोर्टअनुसार, उनको शव पोस्टमार्टम वा अनुसन्धानबिना नै अमेरिकी दूतावासलाई बुझाइएको थियो, यसले विभिन्न प्रश्नहरू उठाएको छ।

भारतीय गुप्तचर निकायहरूले पनि घटनाप्रति चिन्ता व्यक्त गर्दै प्रारम्भिक अध्ययन गरेको भनिएको छ। गत वर्ष अगस्टमा पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताबाट हटेपछि मोहम्मद युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारपछि ढाका र वाशिंगटनबीचको सैन्य तथा रणनीतिक सम्बन्धमा तीव्रघनिष्टता आएको छ।

अमेरिकाका पूर्वराजदूत पिटर हासले पनि गत एक वर्षमा बंगलादेशको ६ पटक भ्रमण गरिसकेका छन्। सञ्चारमाध्यमका रिपोर्टअनुसार, उनले गत अगस्ट ५ मा कक्स बजारमा हालको राजनीतिक आन्दोलनसँग सम्बन्धित समूहका नेताहरूसँग भेट गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट