अल्बानियामा अदालतभित्र गोलीकाण्ड, न्यायाधीशको मृत्यु

तिराना (एजेन्सी) — अल्बानियाको राजधानी तिरानास्थित एक अदालतमा सोमबार भएको गोलीकाण्डमा पुनरावेदन अदालतका न्यायाधीश एस्ट्रिट कालाजाको मृत्यु भएको छ।
प्रहरीका अनुसार, बयानका लागि अदालत पुगेका एक व्यक्तिले अदालतभित्रै गोली चलाउँदा न्यायाधीश गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो।
गोलीकाण्डमा मुद्दाको अर्को पक्षका बाबुछोरा दुई जना पनि घाइते भएका छन्। उनीहरूलाई अस्पताल भर्ना गरिएको र स्वास्थ्य अवस्था अहिले स्थिर रहेको प्रहरीले जनाएको छ।
प्रहरीले गोली चलाउने व्यक्तिलाई घटनास्थलमै पक्राउ गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, मुद्दा सम्पत्ति विवाद सम्बन्धी थियो र अभियुक्तले आफूले मुद्दा हार्ने देखेपछि न्यायाधीशमाथि गोली प्रहार गरेको बताइएको छ।
अल्बानियाका प्रधानमन्त्री एडी रामाले घटनालाई “दुखद” भन्दै बन्दुकसम्बन्धी अपराधका लागि कडा सजाय हुने चेतावनी दिएका छन्। उनले आक्रमणकारीविरुद्ध सबैभन्दा कडा कानुनी कारबाहीको माग गरिएको पनि बताए।
अल्बानियाली कानुनअनुसार, अवैध रूपमा बन्दुक राख्ने व्यक्तिलाई अधिकतम तीन वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था छ।
तपाईको प्रतिक्रिया दिनुहोस