सन् २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी माचाडोलाई
भेनेजुएलाकी मारिया कोरीना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।
नर्वेजियन नोबेल समितिले माचाडोले “बढ्दो अन्धकारको विरुद्ध लोकतन्त्रको ज्योति बलिरहने” काममा उल्लेखनीय योगदान गरेको जनाएको छ। समितिले शान्ति पुरस्कारको घोषणा गर्दै माचाडोको “तानाशाहीबाट लोकतन्त्रतर्फ न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरणका लागि संघर्ष” को प्रशंसा गरेको छ।
नोबेल समितिको पोस्टमा भनिएको छ कि माचाडोले भेनेजुएलाका जनताको लोकतान्त्रिक अधिकारको प्रवर्द्धनमा निरन्तर काम गरेकी छन्। उनका प्रयासले तानाशाहीबाट लोकतन्त्रमा न्यायपूर्ण र शान्तिपूर्ण रूपान्तरण सम्भव भएको उल्लेख गरिएको छ।
समितिका अध्यक्षका अनुसार भेनेजुएलाका विपक्षी दलले चुनावी अनुगमनकर्ताको सहयोगमा संकलित मतदान परिणाम सार्वजनिक गर्दा अन्तर्राष्ट्रिय समर्थन प्राप्त भएको थियो। तर शासकले परिणाम अस्वीकार गर्दै सत्तामा टिक्न खोजेको बताएका छन्।
“स्थायी शान्तिका लागि लोकतन्त्र पूर्वसर्त हो। तर हामी आज यस्तो संसारमा बाँचिरहेका छौं जहाँ लोकतन्त्र पछि हट्दैछ,” अध्यक्षले भने। उनले चेतावनी दिँदै भने, धेरै अधिनायकवादी शासकहरूले सामान्य मान्यताहरूलाई चुनौती दिइरहेको र हिंसाको सहारामा सत्ता टिकाउने क्रम बढ्दो छ।
भेनेजुएलाको नेतृत्वको आलोचना गर्दै उनले भने, “यस्तै प्रवृत्ति हामी संसारभर देखिरहेका छौं जहाँ कानूनी शासनको दुरुपयोग हुन्छ, स्वतन्त्र सञ्चारमाध्यमलाई चुप लागिन्छ, आलोचकहरू जेलमा पर्छन्, र समाज अधिनायकवाद तथा सैन्यकरणतर्फ धकेलिन्छ।”



तपाईको प्रतिक्रिया दिनुहोस