अमेरिका–चीनबीच व्यापार सम्झौतामा आधारभूत सहमति
अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौतामा आधारभूत सहमति भएको छ। अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टका अनुसार, उक्त सहमति दुई देशका शीर्ष नेताबीच यसै साता हुने भेटवार्तामा अन्तिम छलफलका लागि प्रस्तुत गरिनेछ।
बेसेन्टले अमेरिकी समाचार संस्था सीबीएससँग कुरा गर्दै भनेका छन्, “यो सहमतिमा टिकटकको अमेरिकी सञ्चालनसम्बन्धी अन्तिम व्यवस्था र चीनले कडा बनाएको दुर्लभ खनिज नियन्त्रण स्थगित गर्ने विषयहरू समावेश छन्।”
उनका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएको चिनियाँ सामानमाथि १०० प्रतिशत कर (ट्यारिफ) लागू नहुने अपेक्षा गरिएको छ। यसको सट्टामा चीनले अमेरिकाबाट ठूलो मात्रामा भटमास खरिद पुनः सुरु गर्ने योजना बनाएको छ।
विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार तनावलाई नियन्त्रणमा राख्न दुवै राष्ट्रले प्रयास गरिरहेका छन्। यसै क्रममा ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार दक्षिण कोरियामा वार्ता हुने कार्यक्रम छ।
एसिया भ्रमणमा रहेका ट्रम्प मलेसियामा आयोजित आसियान शिखर सम्मेलनमा सहभागी छन्। सोही अवसरमा बेसेन्टले वरिष्ठ चिनियाँ व्यापार अधिकारीहरूसँग भेटवार्ता गरेका थिए। बेइजिङले उक्त भेटलाई ‘रचनात्मक’ भएको प्रतिक्रिया दिएको छ।
बेसेन्टका अनुसार, “दुवै देश नेताहरूका लागि सारभूत ढाँचामा पुगेका छन् र करहरू घटाउने दिशामा पनि प्रगति भइरहेको छ।”
चिनियाँ सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दुवै पक्षले आ–आफ्ना सरोकारहरू सम्बोधन गर्ने व्यवस्थामा आधारभूत सहमति गरेका छन् र विशिष्ट विवरणहरूलाई अन्तिम रूप दिने सहमति भएको छ।”



तपाईको प्रतिक्रिया दिनुहोस