Techie IT
२०८२ कार्तिक १३, बिहीबार

ट्रम्प–सी भेटपछि चीनको शेयर बजारमा सकारात्मक प्रभाव


Trump and Xi shake hands in Busan, South Korea, October 30, 2025. REUTERS/Evelyn Hockstein

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार दक्षिण कोरियाको बुसानमा करिब १०० मिनेट लामो वार्ता भएको छ। व्यस्त तालिका र सुरक्षा कारणले दुवै नेताको भेट गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमै भएको हो।

यो ६ वर्षपछि उनीहरूको पहिलो प्रत्यक्ष भेट हो। बैठकलाई चीन–अमेरिका सम्बन्धमा नयाँ चरणको सुरुवातका रूपमा हेरिएको छ। बैठक अघि ट्रम्पले भनेका थिए, “आजै चीनसँग व्यापार सम्झौता साइन हुन सक्छ। सी निकै कडा वार्ताकार हुन्, तर हामी एकअर्कालाई राम्ररी चिन्छौं।”

बैठकमा दुवै नेताले हात मिलाएर अभिवादन गरे। ट्रम्पले जिनपिङलाई “एक सम्मानित र महान देशका महान नेता” भन्दै प्रशंसा गरेका थिए।

वार्तामा अमेरिकी टोलीबाट विदेशमन्त्री मार्को रुबियो, व्यापार प्रतिनिधि जेमिसन ग्रियर, अर्थमन्त्री स्कट बेसेन्ट, वाणिज्यमन्त्री हावर्ड लुटनिक, चीफ अफ स्टाफ सूजी विल्स र चीनस्थित अमेरिकी राजदूत डेभिड पर्ड्यू सहभागी थिए। चीनतर्फ सीसँग कै क्यू, विदेशमन्त्री वाङ यी, उप विदेशमन्त्री मा झाओक्सू, उप प्रधानमन्त्री हे लिफेङ, वाणिज्यमन्त्री वाङ वेन्टाओ र राष्ट्रिय विकास तथा सुधार आयोगका अध्यक्ष झेङ सान्जी उपस्थित थिए।

सीले वार्तामा ट्रम्पको “शान्ति प्रयास र युद्ध रोक्ने प्रयास” को प्रशंसा गर्दै भने, “चीन र अमेरिका धेरै विषयमा सहमत नहुन सक्छन्, तर संवाद र सहकार्य दुवै देशका लागि अपरिहार्य छन्। स्थायित्वको दिशामा अघि बढ्नुपर्छ। चीनको विकास ट्रम्पको दृष्टिकोणसँग मेल खान्छ।”

वार्ता सुरु हुनासाथ चीनको शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । सांघाई कम्पोजिट इन्डेक्स ०.२ प्रतिशत बढेर ४,०२५.७० मा पुगेको छ, जबकि हङकङको ह्याङ सेङ इन्डेक्स ०.६ प्रतिशतले बढेको छ। विश्लेषकका अनुसार, अमेरिका–चीन व्यापार तनाव घट्ने आशाले लगानीकर्तामा आत्मविश्वास सिर्जना भएको हो।

ट्रम्प एशिया भ्रमण पूरा गरी एयर फोर्स वनमार्फत अमेरिका फर्किसकेका छन्। अब सबैको नजर यो वार्ताबाट के समझदारी भयो र त्यसको प्रभाव अमेरिकी–चिनियाँ सम्बन्धमा कस्तो पर्छ भन्नेमा केन्द्रित छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट