दिल्ली कार विस्फोट : घटनामा जम्मु–कश्मीरका डाक्टरको संलग्नता रहेको आशंका
दिल्लीको लाल किल्ला नजिक सोमबार साँझ भएको कार विस्फोटसँग जम्मु–कश्मीरका डाक्टर डा. उमर उन नबीको सम्बन्ध रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनामा १२ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
दिल्ली प्रहरीको स्पेशल सेलका अधिकारीहरूले हिन्दुस्तान टाइम्सलाई दिएको जानकारी अनुसार प्रारम्भिक अनुसन्धानले पुलवामा बस्ने उमर हालै हरियाणाको फरीदाबादमा ठूलो मात्रामा विस्फोटक बरामद भएको आतंकवादी मोड्युलसँग जोडिएको देखाएको छ। यसअघि पनि सो मोड्युलसँग सम्बन्धित जम्मु–कश्मीरका दुई अन्य डाक्टर पक्राउ परेका थिए।
कसरी पत्ता लाग्यो?
प्रहरीका अनुसार विस्फोटमा प्रयोग भएको कारको मालिक पत्ता लगाउनु नै अनुसन्धानको मुख्य कुञ्जी बनेको थियो। अनुसन्धानबाट कार सलमान नामक व्यक्तिको नाममा दर्ता भएको पाइएको छ । उनले कार देवेन्द्रलाई बेचेको बताएका छन् । सोधपुछमा देवेन्द्रले तारिक नामका व्यक्तिलाई कार बेचेको बताए। अन्ततः अनुसन्धानले कार विस्फोटको समयमा उमरको साथमा रहेको बताइएको छ ।
अधिकारीहरूले थपे, ‘उमर आफ्ना साथी डाक्टर मुजम्मिल शकिल र आदिल अहमदको मोड्युलसँग काम गर्दै थिए।’ आदिल अहमद राथर हिरासतमा परेपछि शकिललाई अक्टोबर ३० मा जम्मु–कश्मीर प्रहरीले पक्राउ गरेको थियो। सोधपुछपछि उनीहरूले लुक्ने स्थानमा लगेर लगभग २,९०० किलोग्राम अमोनियम नाइट्रेट र बम निर्माण सामग्री बरामद गरेका थिए।

दोस्रो अधिकारीका अनुसार उमरले आफ्ना साथीहरू पक्राउ परेपछि विस्फोट गराएको हुन सक्ने अनुमान गरिएको छ। प्रारम्भिक अनुसन्धानले विस्फोटको समयमा उमर नै कार चलाइरहेका थिए र सम्भावित रूपमा उनका मृत्यु भएको पत्ता लागेको छ । प्रहरीले शवगृहका डाक्टरहरूसँग यसबारे जाँच गरिरहेको छ।
दिल्ली प्रहरीले यस घटनामा गैरकानुनी गतिविधि रोकथाम ऐन (UAPA), भारतीय दण्ड संहिता (हत्या र हत्या प्रयास) र विस्फोटक पदार्थ ऐनअन्तर्गत एफआईआर दर्ता गरेको छ।
अनुसन्धानकर्ताहरूले विस्फोट कारमा लगिँदै गरेको उपकरण दुर्घटनावश पड्किएको हो कि नियतवस विस्पोट बएको हो भन्ने जान्न खोजिरहेका छन्। विस्फोटको तीव्रता र तापक्रमले अमोनिया जेल वा यस्तै प्रकारको उच्च तीव्रताको विस्फोटक प्रयोग भएको सङ्केत गरेको बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस