Techie IT
२०८२ कार्तिक २६, बुधबार

ढाकामा श्रृंखलाबद्ध बम विस्फोट, २७ जना घाइते


भारत र पाकिस्तानका राजधानीमा विस्फोट भएको दुई दिनपछि बंगलादेशको राजधानी ढाकामा पनि श्रृंखलाबद्ध बम विस्फोट भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार ढाकाका फरक–फरक स्थानमा बम विष्फोट भएका हुन्। प्रारम्भिक जानकारीअनुसार धानमन्डी र गुलिस्तान क्षेत्रमा फरक समयमा भएका दुई विष्फोटमा २७ जना घाइते भएका छन्।

जिल्ला अदालत भवन अगाडि रोकिएको प्रहरी भ्यानमा भएको विस्फोटमा सर्वाधिक मानवीय क्षति भएको बताइएको छ। पाकिस्तानी तालिबान (टीटीपी) ले उक्त आक्रमणको जिम्मेवारी लिँदै यस्ता गतिविधि जारी राख्ने चेतावनी दिएको द डेली स्टार ले जनाएको छ।

धानमन्डीस्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) को अनुसन्धान एजेन्सी कार्यालय अगाडि साँझ ८:०४ बजे पहिलो बम विस्फोट भएको थियो। त्यसको करिब ४५ मिनेटपछि, ८:५० बजे गुलिस्तानको जिरो प्वाइन्ट नजिक अर्को विस्फोट भएको थियो।

प्रहरीका अनुसार दुवै घटनामा मोटरसाइकलमा आएका दुई व्यक्तिले बम फालेर भागेका थिए। अहिलेसम्म कुनै पक्राउ भएको छैन। बमहरू क्रुड बम (घरमै बनाइने साधारण विस्फोटक यन्त्र) भएको पुष्टि भएको छ। यस्ता बमहरू कम गुणस्तरका, असुरक्षित र अस्थिर हुने बताइन्छ।

विस्फोटपछि ढाकामा त्रास फैलिएको छ। सरकारी कार्यालय, धार्मिक संस्था र राजनीतिक दलका कार्यालयहरूलाई लक्षित गरी आक्रमण गरिएको हुनसक्ने अनुमान गरिएको छ।

यसअघि आइतबार भारतको राजधानी नयाँदिल्लीस्थित लालकिला नजिक कार विष्फोट हुँदा आठ जनाको मृत्यु भएको थियो भने सोमबार पाकिस्तानको इस्लामाबादमा भएको विस्फोटमा १३ जनाले ज्यान गुमाएका थिए।

ढाकामा भएका विस्फोटपछि बंगलादेश सरकारले देशभर सुरक्षा सतर्कता कडाइ गरेको छ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार मोहम्मद युनुसले घटनाको अनुसन्धान गरी संलग्न व्यक्तिलाई कानूनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्। उनले धार्मिक सहिष्णुतामा खलल पुर्‍याउन खोज्नेहरूलाई ‘उचित जवाफ’ दिने चेतावनी पनि दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट