बङ्गलादेशमा चुनावसँगै जनमत सङ्ग्रह हुने अन्तरिम सरकार प्रमुख युनुसको घोषणा
बङ्गलादेशका अन्तरिम सरकार प्रमुख तथा मुख्य सल्लाहकार मोहम्मद युनुसले आगामी संसदीय निर्वाचन हुने दिन नै राष्ट्रिय जनमत सङ्ग्रह गरिने घोषणा गरेका छन्।
बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै युनुसले भने, “आगामी फेब्रुअरीमा हुने संसदीय निर्वाचनसँगै ‘जुलाई चार्टर’ सम्बन्धी जनमत सङ्ग्रह पनि गरिनेछ।”
यो जनमत सङ्ग्रह गत वर्ष विद्यार्थी नेतृत्वमा भएको आन्दोलनपछि तयार गरिएको ‘जुलाई चार्टर’ लागू गर्नका लागि गरिने हो। उक्त चार्टरले बङ्गलादेशको राजनीति, शासन प्रणाली र संस्थागत सुधारका लागि नयाँ रूपरेखा प्रस्ताव गरेको छ।
जनमत सङ्ग्रहमा मतदाताहरूलाई चारवटा प्रश्नमा ‘हो’ वा ‘होइन’ भन्ने जवाफ दिन आग्रह गरिनेछ। यदि बहुमतले ‘हो’ भनी समर्थन गरे भने संविधान संशोधनका लागि विशेष संवैधानिक सुधार परिषद् गठन गरिने युनुसले स्पष्ट पारे।
अक्टोबर महिनामा अधिकांश राजनीतिक दलहरूले सो चार्टरमा हस्ताक्षर गरेका थिए। तर, गत वर्षको आन्दोलनका नेताहरू र चार वामपन्थी दलहरूले गठन गरेको नेशनल सिटिजन्स पार्टी (एनसीपी) ले भने चार्टरको बहिष्कार गरेको छ।
एनसीपीले उक्त चार्टरले सुधारका वाचा गरे पनि कार्यान्वयनका लागि कुनै कानुनी ढाँचा वा ठोस ग्यारेन्टी नदिएको भन्दै असहमति जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस