Techie IT
२०८२ मंसिर २४, बुधबार

सुरक्षा ग्यारेन्टी भए ३ महिनाभित्र चुनाव गर्न तयार : जेलेन्स्की


युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सहयोगी मुलुकहरूबाट सुरक्षा सुनिश्चित भए तीन महिनाभित्र राष्ट्रपतिको निर्वाचन गराउन आफू तयार रहेको बताएका छन्।

बुधबार पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले सहयोगी राष्ट्रहरूले आवश्यक सुरक्षा व्यवस्था सुनिश्चित गर्न सके ६० देखि ९० दिनभित्र चुनाव सम्भव हुने स्पष्ट पारे। सन् २०१९ मा निर्वाचित उनकाे कार्यकाल अघिल्लो वर्षमै सकिएको हो। तर २०२२ देखि युक्रेन र रूसबीच युद्ध जारी रहेकाले त्यहाँ चुनाव हुन सकेको छैन।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले युद्धलाई बहाना बनाएर निर्वाचन टारिरहेको आरोप लगाएका थिए। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले समेत जेलेन्स्की ‘वैध राष्ट्रपति’ नभएको दाबी गर्दै राष्ट्रपतिको हैसियतमा वार्ता नगर्ने बताएका छन्।

जेलेन्स्कीले भने निरन्तर मिसाइल र ड्रोन आक्रमण भइरहेकाले वर्तमान अवस्थामा निर्वाचन सम्भव नभएको दोहोर्‍याएका छन् । ‘कसरी मतदान गरिन्छ, कहाँ मतदान हुन्छ? मिसाइल आक्रमण भइरहँदा ती प्रश्न अत्यन्त महत्वपूर्ण हुन्छन्,’ उनले भने।

उनका अनुसार युद्धकालीन अवस्था (मार्शल ल) मा पनि लोकतान्त्रिक प्रक्रिया सुनिश्चित गर्न कानुनी रूपमा आवश्यक संशोधनका लागि संसदलाई तयारी गराउँदै आएको युक्रेनी सरकार प्रयासरत छ। युरोपेली साझेदार र अमेरिकासँग मिलेर एक अद्यावधिक शान्ति प्रस्ताव पनि विकसित भइरहेको उनले जानकारी दिए।

‘युक्रेनका लागि अहिले सबैभन्दा ठूलो चुनौती कस्तो अवस्थामा, कस्तो सुरक्षा व्यवस्थामा, र कुन प्रणालीमार्फत युद्धकै बीचमा चुनाव सम्भव हुन्छ भन्ने हो,’ जेलेन्स्कीले भने, ‘हामी तयार छौँ, तर पहिले सुरक्षा ग्यारेन्टी चाहिन्छ।’

उनले रूसद्वारा कब्जा गरिएको क्राइमिया फिर्ता ल्याउने शक्ति अहिले युक्रेनसँग पर्याप्त नभएको पनि स्वीकारेका छन् । पत्रकारको प्रश्नमा उनले भने, ‘आजको दिनमा हाम्रो शक्ति पर्याप्त छैन।’ 

रूसले २०१४ मा क्राइमिया कब्जा गरेयता दुवै देशबीच निरन्तर तनाव रहँदै आएको छ। पछिल्ला शान्ति प्रयासहरू पनि सफल हुन सकेका छैनन्। रूसले डोनबास क्षेत्रमा आफ्नो नियन्त्रण भएको दाबी गर्दै आएको छ, जसलाई युक्रेन र युरोपेली मुलुकहरूले अस्वीकार गरेका छन्। पुटिनले आवश्यक परे आक्रमणमार्फत पनि डोनबास नियन्त्रणमा लिने चेतावनी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट