गोलीकाण्डपछि अमेरिकी ग्रिन कार्ड लटरी बन्द
अमेरिकी गृह सुरक्षा विभागकी प्रमुख क्रिस्टी नोमले ब्राउन युनिभर्सिटीमा भएको सामूहिक गोलीकाण्डमा संलग्न संदिग्धले ग्रिन कार्ड लटरीमार्फत अमेरिका प्रवेश गरेको खुलासा गर्दै उक्त कार्यक्रम निलम्बन गर्न निर्देशन दिएकी छन्।
नोमका अनुसार पोर्चुगलका नागरिक क्लाउडियो नेभेस भ्यालेन्टेले सन् २०१७ मा डाइभर्सिटी लटरी इमिग्रेन्ट भिसा कार्यक्रम (डिभी–१) मार्फत संयुक्त राज्य अमेरिकामा प्रवेश गरी ग्रिन कार्ड प्राप्त गरेका थिए।
नेभेस भ्यालेन्टेमाथि गत डिसेम्बर १३ मा आइभी लिगअन्तर्गतको ब्राउन युनिभर्सिटीको एक भवनमा परीक्षा दिइरहेका विद्यार्थीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको आरोप लगाइएको छ। घटनामा दुई जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए।
यस घटनापछि उनीमाथि दुई दिनपछि म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) का एक प्राध्यापकको हत्या गरेको आरोप पनि लगाइएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
गृह सुरक्षा प्रमुख नोमले सामाजिक सञ्जालमार्फत राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार संयुक्त राज्य अमेरिकाको नागरिकता तथा अध्यागमन सेवा (युएससीआइएस) लाई ग्रिन कार्ड लटरी कार्यक्रम तत्काल रोक्न निर्देशन दिइएको बताएकी छन्।
उनले ‘विनाशकारी परिणाम निम्त्याउने यस्ता कार्यक्रमका कारण थप अमेरिकी नागरिक जोखिममा नपरोस् भन्ने उद्देश्यले यो निर्णय लिइएको’ उल्लेख गरेकी छन्। साथै, आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई अमेरिकामा कहिल्यै प्रवेश दिनु नहुने उनको भनाइ छ।
प्रहरीका अनुसार लामो खोजीपछि नेभेस भ्यालेन्टे आत्महत्या गरेको अवस्थामा मृत फेला परेका छन्। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाइएको छ।
ग्रिन कार्ड लटरी कार्यक्रम के हो ?
अमेरिकी विदेश विभागका अनुसार डाइभर्सिटी भिसा (ग्रिन कार्ड लटरी) कार्यक्रममार्फत संयुक्त राज्य अमेरिकाले विभिन्न देशका नागरिकलाई वार्षिक रूपमा करिब ५५ हजार जनालाई स्थायी आवास अनुमति प्रदान गर्दै आएको छ।
यस कार्यक्रममा सहभागी हुन आवेदकले कम्तीमा उच्च माध्यमिक तहको शिक्षा पूरा गरेको वा दुई वर्षको तालिम वा कार्यअनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था छ। आवेदकहरू छनोटपछि विस्तृत जाँच प्रक्रिया, अन्तर्वार्ता लगायतका चरण पार गरेर मात्र भिसा प्राप्त गर्छन्।



तपाईको प्रतिक्रिया दिनुहोस