इमरान दम्पत्तीलाई १७ वर्ष कैद र करोडौं जरिवाना गरिएको तोशाखाना मुद्दा के हो?
पाकिस्तानको विशेष अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई तोशाखाना भ्रष्टाचार मामिलामा समान रूपमा १७ वर्षको कठोर कारावास सजाय सुनाएको छ। उक्त फैसला शनिबार (२० डिसेम्बर) रावलपिण्डीस्थित अडियाला जेलमै बसेको विशेष अदालतले गरेको हो । आदालतमार्फत दम्पतीलाई १०–१० वर्ष पाकिस्तान दण्ड संहिता ४०९ (आपराधिक विश्वासघात) अन्तर्गत र थप ७–७ वर्ष भ्रष्टाचार निवारण ऐन अन्तर्गत सजाय दिइएको छ।
उनीहरूमाथि प्रत्येकलाई १६.४ मिलियन पाकिस्तानी रुपैयाँ (१ करोड ६४ लाख) जरिवाना पनि तोकिएको छ। जरिवाना नतिरे थप कैद हुनसक्ने व्यवस्था पनि गरिएको छ। यस मुद्दामा अदालतले निर्णयसँगै उल्लेख गरेको छ कि इमरानको उमेर र बुशरा बीबी महिला भएकाले सजायमा केही सहनशीलता अपनाइएको हो र अघिल्लो थुनामा बसेको समयलाई पनि सजायमा समावेश गरिने उनको लिखित फैसला अनुसार उल्लेख छ।
तोशाखाना मुद्दा के हो?
तोशाखाना प्रणालीअनुसार पाकिस्तानलाई विदेशबाट प्राप्त उपहारहरूलाई सरकारले तोकिएको प्रक्रियामा सरकारी कोषमा बुझाउनुपर्ने वा उचित मूल्य तिरेर खरिद गर्नुपर्ने कानुनी व्यवस्था छ। आरोपअनुसार, इमरान खानले साउदी युवराज मोहम्मद बिन सलमानबाट २०२१ मा प्राप्त बुलगारी ब्रान्डको आभूषण सेट अत्यन्तै कम मूल्यमा खरिद गरेर राखेको र दुवैले राज्यलाई करोडौँ रुपैयाँको क्षति पुर्याएको दाबी भएको थियो ।
यो सजाय इमरान खानका लागि पहिलेदेखि नै विभिन्न मुद्दामा थुनामा बसेर भोगिरहेका अन्य कैद सजायमा थपिएको छ। उनी यसअघि पनि ठूलो भ्रष्टाचार मामिलामा १४ वर्ष कैद सजाय भोग्दै आएका छन्।
सजायको विरुद्धमा इमरान खान र बुशरा बीबीका वकिलहरूले उच्च अदालतमा अपील गर्ने तयारी गरेका छन् भने उनका पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले यसलाई ‘राजनीतिक रूपमा प्रेरित’ र ‘अन्यायपूर्ण’ निर्णयले भएको आरोप लगाएको छ।यसैबीच, पीटीआई समर्थकहरूले पाकिस्तानका विभिन्न स्थानमा फैसला विरुद्ध प्रदर्शन गरिरहेका छन् र इमरानलाई समर्थन जनाउँदै आन्दोलन चलाइरहेको समाचारमा उल्लेख छ।
यो निर्णयले पाकिस्तानको राजनीतिक भविष्य र विपक्षी नेताको भूमिकामा गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस