Techie IT
२०८२ पौष १०, बिहीबार

राजनीतिक बन्दी गुरुङको रहस्यमय मृत्यु, जीसीआरपीपीबीद्वारा कडा निन्दा


भुटानका राजनीतिक बन्दीहरूको रिहाइका लागि गठित संस्था ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान (जीसीआरपीपीबी) ले भुटानका विभिन्न जेलमा रहेका ३१ राजनीतिक बन्दीमध्ये एक शा बहादुर गुरुङको रहस्यमय मृत्युले आफूहरू गहिरो रूपमा स्तब्ध र अत्यन्त दुःखी भएको जनाएको छ।

६५ वर्षीय गुरुङको १५ डिसेम्बर २०२५ मा थिम्पुस्थित चामगाङ केन्द्रीय कारागारको आफ्नै कोठामा मृत्यु भएको हो। उनको मृत्युको परिस्थितिले हिरासतमा लापरवाही, दीर्घकालीन दुरुपयोग तथा राज्यको उत्तरदायित्वप्रति गम्भीर प्रश्न उठाएको जीसीआरपीपीबीले जनाएको छ।

भुटानको चिराङ क्षेत्रका स्थायी बासिन्दा शा बहादुर गुरुङ सन् १९९० मा रोयल भुटान आर्मीमा कार्यरत रहँदा पक्राउ परेका थिए। शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो।

तीन दशकभन्दा बढी समय उनी मुख्यतः वाङ्दी फोड्राङ जिल्लास्थित राबुना कारागारमा थुनिएका थिए। उक्त कारागार कठोर, अमानवीय तथा अपारदर्शी हिरासत अवस्थाका लागि कुख्यात मानिन्छ।

संयुक्त राज्य अमेरिका तथा अन्य देशमा बसोबास गरिरहेका उनका आफन्त तथा अन्य विश्वसनीय स्रोतहरूका अनुसार गुरुङले कारावास अवधिभर गम्भीर शारीरिक र मानसिक यातना सहनुपरेको थियो। सुरक्षा निकायका कर्मचारीद्वारा पटक–पटक कुटपिट, अपमान, एकान्त कारावास तथा अन्य अमानवीय व्यवहार गरिएको आरोप छ।

आफन्तका अनुसार उनलाई ‘तिम्रो विरुद्ध मृत्युदण्डको आदेश जारी भइसकेको छ, तर तत्काल मार्नुको सट्टा हिरासतमा क्रमशः यातना दिँदै मारिनेछ’ भन्ने धम्कीसमेत दिइएको थियो। दशकौँ लामो दुर्व्यवहार र समयमै उपचार नपाउँदा उनको स्वास्थ्य अत्यन्त कमजोर बनेको र अन्ततः त्यसकै परिणामस्वरूप मृत्यु भएको परिवारजनको विश्वास छ।

स्वास्थ्य अवस्था गम्भीर रूपमा बिग्रँदै गएपछि डिसेम्बर २०२५ को सुरुआतमा उनलाई राबुना कारागारबाट चामगाङ केन्द्रीय कारागारमा सारिएको थियो। उनी १० डिसेम्बर २०२५ देखि त्यहीँ थुनामा थिए। स्थानान्तरणका क्रममा पनि आवश्यक चिकित्सकीय उपचार र निगरानी नदिइएको आरोप लगाइएको छ।

आफन्त तथा प्राप्त विवरणअनुसार १४ डिसेम्बर २०२५ को साँझ गुरुङले सामान्य रूपमा खाना खाएर सुत्न गएका थिए र कुनै अस्वाभाविक लक्षण देखिएको थिएन। तर १५ डिसेम्बर २०२५ को बिहान उनी कोठाभित्र बेहोस अवस्थामा, झन्डै निर्जीव जस्तै देखिने गरी फेला परेका थिए।

तत्काल ड्युटीमा रहेका प्रहरीलाई जानकारी गराइए पनि सम्बन्धित अधिकारीहरूले समयमै प्रतिक्रिया नजनाएको बताइएको छ। नजिकैको स्वास्थ्य चौकी पुर्‍याउँदासम्म उनको मृत्यु भइसकेको थियो। त्यसपछि उनलाई थिम्पुस्थित अस्पताल रिफर गरिएको थियो, जसबाट स्थानान्तरणका क्रममा उनी जीवित थिए भन्ने देखाउने प्रयास गरिएको परिवारजनको दाबी छ। तर कारागारबाट बाहिर लैजानुअघि नै उनको मृत्यु भइसकेको परिवारको भनाइ छ।

गुरुङको मृत्यु १७ डिसेम्बर २०२५ मा मनाइने भुटानको ११८औँ राष्ट्रिय दिवसभन्दा ठीक दुई दिनअघि भएको हो। उक्त अवसरमा राजकीय आममाफीमार्फत राजनीतिक बन्दीहरू रिहा हुने आशा परिवारजन, समर्थक तथा विश्वभरका मानवअधिकारकर्मीहरूले गरेका थिए।

तर त्यसको सट्टा सबैभन्दा लामो समयदेखि थुनामा रहेका एक राजनीतिक बन्दीको मृत्युले गहिरो शोक, आक्रोश र चिन्ता फैलिएको छ। आफन्तका अनुसार यो घटना राज्यको हिरासतमा रहँदा दशकौँसम्म सहनुपरेको दुरुपयोग र उपेक्षाको चरम परिणति हो।

जीसीआरपीपीबीले शान्तिप्रिय र न्यायप्रेमी भुटानी नागरिक शा बहादुर गुरुङप्रति गरिएको व्यवहार तथा उनको रहस्यमय मृत्युको कडा निन्दा गरेको छ। संस्थाका अनुसार यस घटनाले भुटानमा राजनीतिक बन्दीहरूमाथि भइरहेको व्यवहारबारे गम्भीर प्रश्न उठाएको छ र ‘ग्रस नेशनल ह्यापिनेस’, करुणा र सचेतनाजस्ता सिद्धान्तमा आधारित भनिने भुटानको अन्तरराष्ट्रिय छविसँग यो पूर्णतः विपरीत छ।

संस्थाले भुटान सरकारलाई गुरुङको मृत्युबारे तत्काल गहन, पारदर्शी र निष्पक्ष छानबिन सुरु गर्न आह्वान गरेको छ। साथै स्वतन्त्र बाह्य छानबिन समिति गठन गर्न, त्यसका निष्कर्ष सार्वजनिक गर्न र अपूरणीय क्षतिका लागि उनका परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरिएको छ।

जीसीआरपीपीबीले स्वर्गीय शा बहादुर गुरुङलाई भुटानमा मानवअधिकार र न्यायको पक्षमा जीवन अर्पण गर्ने भुटानी शहीदका रूपमा औपचारिक मान्यता दिन पनि माग गरेको छ। उनका परिवारलाई सम्मानपूर्वक व्यवहार गर्न, आवश्यक सामाजिक, कानुनी तथा आर्थिक सहयोग प्रदान गर्न तथा उनको पीडा र बलिदानको कदरस्वरूप उचित मान्यता र क्षतिपूर्ति दिन आग्रह गरिएको छ।

संस्थाले भुटानमा हाल रहेका सबै राजनीतिक बन्दीहरूको बिना सर्त तत्काल रिहाइको माग दोहोर्‍याउँदै अन्तरराष्ट्रिय समुदाय, मानवअधिकार संस्था तथा कूटनीतिक नियोगहरूलाई स्थिति नजिकबाट निगरानी गर्न र मानवअधिकार तथा न्याय सुनिश्चित गर्न आवश्यक कदम चाल्न आह्वान गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट