गणतन्त्रसँग हिन्दू धर्म किन साटियो? - रेशम चौधरी
काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं संरक्षक रेशमलाल चौधरीले १९ दिने जनआन्दोलनमा गणतन्त्रसँगै हिन्दू धर्म साटिएको भन्दै नेपाली कांग्रेसलाई गम्भीर प्रश्न गरेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
आफू पनि सो आन्दोलनमा सहभागी भएर लाठी र पानीको फोहरा खाएको स्मरण गर्दै चौधरीले कांग्रेस नेता गगन थापाप्रति लक्षित गर्दै भने, “१९ दिने आन्दोलनमा हामीले गणतन्त्र त ल्यायौँ, तर एउटा अनौठो संयोग छ– यो गणतन्त्रसँगै मेरो धर्म किन साटियो?” आफ्नो पहिचान र संस्कृतिसँग कुनै पनि कुराको साटफेर गर्न नपाइने र दसैँको जमरासँग कुनै चिजको सौदाबाजी नहुने उनले स्पष्ट पारे।
नयाँ पुस्ताका नेताहरूप्रति असन्तुष्टि र विश्वास
सम्बोधनका क्रममा चौधरीले अहिलेको युवा पुस्ताका नेताहरूले पनि देश बनाउने छनक नदेखाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । हिजो कपाल फुलेका पाका नेताहरूले देश बिगाारेको आरोप लाग्ने गरे पनि अहिले जुँगा र कपाल कालो भएकाहरूले पनि देश बनाउने छाँटकाँट नदेखाएको उनको भनाइ थियो।
अगाडि आसन ग्रहण गरिरहनुभएका नेता गगन थापालाई सम्बोधन गर्दै उनले भने, “हिजो सबै कपाल फुलेकाले देश बिगारे, तर अहिले कालो कपाल र जुँगा भएकाहरूले पनि देश बनाउने छनक देखाएका छैनन्।” यद्यपि, अब आधाआधि कपाल र दारी फुलेका गगन थापाजस्ता नेताहरूको पुस्ताले चाहिँ देश बनाउनेछ भन्नेमा आफू अझै पनि विश्वस्त रहेको उनले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस