बंगलादेशमा फेरि हिंस्रक भिडको क्रूरता: अर्का हिन्दु युवक अमृतको कुटपिटपछि हत्या
बंगलादेशमा फेरि हिंस्रक भिडद्वारा एक हिन्दु युवकको कुटपिट गरी हत्या गरिएको छ। राजबारी जिल्लाको होसेनडाँगा गाउँमा बुधबार राति करिब ११ बजे यो घटना भएको हो।
प्रहरीका अनुसार मृतक २९ वर्षीय अमृत मण्डल उर्फ सम्राट हुन्। उनी सोही गाउँका बासिन्दा थिए। प्रहरीले अमृतमाथि जबरजस्ती असुलीको आरोप लगाउँदै भिडले कुटपिट गरेर हत्या गरेको जनाएको छ।
प्रहरी स्रोतका अनुसार अमृतविरुद्ध पाङशा प्रहरी चौकीमा दुई वटा मुद्दा दर्ता थिए, जसमा एउटा हत्या सम्बन्धी मुद्दा पनि समावेश छ।
यसअघि डिसेम्बर १८ मा ढाका नजिकै अर्का हिन्दु युवक दिपु चन्द्र दासको पनि निर्मम हत्या भएको थियो। उनलाई रूखमा झुन्ड्याएर जलाइएको अवस्थामा फेला पारिएको थियो।
गिरोह बनाएर जबरजस्ती असुली गरेको आरोप
बंगलादेशी दैनिक ‘डेली स्टार’को रिपोर्टअनुसार स्थानीय बासिन्दाले अमृतमाथि आपराधिक गिरोह सञ्चालन गर्दै जबरजस्ती असुलीमा संलग्न रहेको आरोप लगाएका छन्। उनी लामो समय भारतमा लुकेर बसेपछि केही समयअघि मात्र गाउँ फर्किएका थिए।
रिपोर्टका अनुसार अमृतले गाउँकै बासिन्दा शाहिदुल इस्लामसँग जबरजस्ती रकम मागेका थिए। डिसेम्बर २४ को रात अमृत र उनका केही साथीहरू शाहिदुलको घरमा पैसा लिन पुगेका थिए।
त्यसक्रममा परिवारका सदस्यहरूले ‘चोर’ भन्दै चिच्याएपछि स्थानीय बासिन्दा घटनास्थलमा भेला भएका थिए। आक्रोशित भिडले अमृतलाई कुटपिट गरेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाले बंगलादेशमा अल्पसंख्यक समुदायको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस