५ वर्षपछि भारतीय सेनालाई सामाजिक सञ्जालमा आंशिक छुट: हेर्न पाइने, लाइक–कमेन्ट गर्न नपाइने
भारतीय सेनाका जवानहरूलाई पाँच वर्षपछि सामाजिक सञ्जाल एप्स प्रयोग गर्न अनुमति दिइएको छ। तर, सुरक्षालाई ध्यानमा राख्दै सेनाले कडा सर्तसहित नयाँ दिशानिर्देश जारी गरेको छ।
न्युज एजेन्सी एएनआईका अनुसार नयाँ निर्देशनअनुसार जवानहरूले इन्स्टाग्राममा रिल, फोटो र भिडियो हेर्न सक्नेछन्। तर लाइक, कमेन्ट वा प्रतिक्रिया जनाउन भने अनुमति दिइएको छैन।
यसैगरी व्हाट्सएप र टेलिग्राम जस्ता म्यासेजिङ एपमार्फत गैर–गोपनीय जानकारी मात्र आदान–प्रदान गर्न पाइनेछ। युट्युब र एक्स (ट्विटर) को प्रयोग पनि केवल सूचना प्राप्तिका लागि सीमित गरिएको छ।
सेनाले लिंक्डइन, स्काइप र सिग्नल एप प्रयोगसम्बन्धी छुट्टै मापदण्ड पनि जारी गरेको छ।
हनीट्र्याप र सूचनाचुहावटपछि लागेको थियो प्रतिबन्ध
सरकारले सन् २०२० मा सुरक्षा जोखिमको कारण सैनिक र अधिकारीहरूलाई ८९ वटा मोबाइल एप हटाउन आदेश दिएको थियो। ती एप्समा फेसबुक, इन्स्टाग्राम, टिकटक, जुम र पबजीजस्ता लोकप्रिय एपहरू पनि समावेश थिए।
त्यस समयमा सामाजिक सञ्जालमार्फत हनीट्र्यापका धेरै घटनाहरू सार्वजनिक भएका थिए। भारतीय सैन्यकर्मीहरू हनीट्र्यापमा परेपछि पाकिस्तानी खुफिया एजेन्सी आईएसआईसम्म संवेदनशील सूचनाहरू पुगेको आरोप लागेको थियो।
सेनाको दाबीअनुसार ती सूचनाहरूको दुरुपयोग गर्दै पाकिस्तान र चीनजस्ता छिमेकी मुलुकहरूले सीमा र नियन्त्रण रेखामा समस्या सिर्जना गरिरहेका थिए।
यही सुरक्षा चिन्ताकै कारण सन् २०२४ मा भारतीय सेनाले आधिकारिक कामकाजमा व्हाट्सएप प्रयोग नगर्न सल्लाह दिएको थियो, जुन पछि पूर्ण प्रतिबन्धमा परिणत गरिएको थियो।
नयाँ व्यवस्थाले सेनाभित्र डिजिटल पहुँच र राष्ट्रिय सुरक्षाबीच सन्तुलन खोजिएको संकेत दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस