Techie IT
२०८२ पौष १९, शनिबार

नर्वेमा सन् २०२५ मा ९५.९ प्रतिशत विद्युतीय सवारी


सन् २०२५ मा उत्सर्जनरहित सवारी साधन मात्रै बिक्री गर्ने लक्ष्य लिएको नर्वे त्यसको निकै नजिक पुगेको छ। सन् २०२५ मा नर्वेमा बिक्री भएका कुल सवारी साधनमध्ये ९५.९ प्रतिशत हिस्सा विद्युतीय सवारी साधनले ओगटेको तथ्याङ्कले देखाएको छ।

पश्चिमी युरोपको सबैभन्दा ठूलो पेट्रोलियम निर्यातकर्ता भए पनि नर्वेले युरोपेली सङ्घका अन्य मुलुकहरूभन्दा धेरै वर्षअघि नै विद्युतीय सवारी साधनतर्फ रूपान्तरणको नेतृत्व गर्दै आएको छ। नर्वेले सन् २०२५ भित्र शून्य–उत्सर्जन सवारी साधन बिक्री गर्ने गैर–बाध्यकारी लक्ष्य तय गरेको थियो।

नर्वेजियन रोड फेडरेशन (ओएफभी) का अनुसार सन् २०२५ मा नर्वेमा एक लाख ७९ हजार ५४९ व्यक्तिगत सवारी साधन दर्ता भएका छन्, जुन सन् २०२१ मा कायम अघिल्लो उच्च रेकर्डभन्दा बढी हो। विशेषगरी डिसेम्बर महिनामा कुल बिक्रीको ९७.६ प्रतिशत हिस्सा विद्युतीय सवारी साधनले ओगटेको ओएफभीले शुक्रबार जनाएको छ।

ओएफभीका निर्देशक गीर इन्गे स्टोकले जारी गरेको विज्ञप्तिमा भनेका छन्, “कार बिक्री परम्परागत रूपमा वर्षको अन्त्यतिर बढी हुन्छ। भ्याट करमा हुने परिवर्तनका कारण सन् २०२६ को जनवरीभन्दा अघि नै धेरै उपभोक्ताले नयाँ विद्युतीय सवारी किन्न प्रेरित भएका छन्।”

नर्वे सरकारले सन् २०२६ को सुरुदेखि विद्युतीय सवारी साधन किन्दा दिँदै आएको भ्याट कर छुटको सीमा पाँच लाख क्रोनर (करिब ४९ हजार अमेरिकी डलर) बाट घटाएर तीन लाख क्रोनरमा झार्ने निर्णय गरेको छ। यस्तै, सुरुमा सन् २०२७ का लागि योजना गरिएको कर छुटको पूर्ण अन्त्य सन् २०२८ सम्म पछाडि सारिने अपेक्षा गरिएको छ।

यस वर्ष अमेरिकी कार निर्माता टेस्लाले नर्वेली बजारमा आफ्नो अग्रणी स्थान अझ बलियो बनाएको छ। कुल दर्तामध्ये टेस्लाको हिस्सा १९.१ प्रतिशत पुगेको ओएफभीले जनाएको छ। सन् २०२५ मा मात्र नर्वेमा ३४ हजार २८५ नयाँ टेस्ला सवारी साधन दर्ता भएका छन्। युरोपका अन्य मुलुकमा देखिएको बिक्री गिरावटको असर भने नर्वेमा टेस्लालाई परेको छैन।

यसैबीच, चिनियाँ कार उत्पादकहरूले पनि नर्वेमा आफ्नो बजार हिस्सा विस्तार गरेका छन्। सन् २०२४ मा १०.४ प्रतिशत रहेको चिनियाँ कारको बिक्री हिस्सा सन् २०२५ मा बढेर १३.७ प्रतिशत पुगेको ओएफभीको तथ्याङ्कले देखाएको छ।

नर्वेको यस प्रगतिलाई विश्वव्यापी रूपमा विद्युतीय सवारी प्रवर्द्धनको सफल उदाहरणका रूपमा हेरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट