Techie IT
२०८२ पौष २५, शुक्रबार

बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो: बीएनपी नेताको गोली हानी हत्या


बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या गरिएको छ भने कारवान बजार भ्यान एसोसिएसनका महासचिव अबु सुफियान मसूद गोली प्रहारबाट गम्भीर घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमहरूले उक्त घटनाको पुष्टि गरेका छन्।

मुसब्बिर बीएनपीको स्वयंसेवक शाखा ढाका सिटी नर्थ स्वेच्छासेबक दलका पूर्व महासचिव रहेको जनाइएको छ। बुधबार राति करिब ८ः४० बजे राजधानी ढाकाको बसुन्धरा मार्केट पछाडिको बजार क्षेत्रमा अज्ञात बन्दुकधारीहरूले उनलाई लक्षित गरी गोली प्रहार गरेका थिए।

तेजगाँव डिभिजनका अतिरिक्त प्रहरी उपायुक्त (एडीसी) फजलुल करिमले घटनामा मुसब्बिरको मृत्यु भएको पुष्टि गरेका छन्। उनका अनुसार स्टार कबाब नजिकैको गल्लीमा अज्ञात समूहले दुई जनामाथि गोली चलाउँदा मुसब्बिरको घटनास्थल नजिकै मृत्यु भएको हो भने अर्का घाइते अबु सुफियान मसूदलाई उपचारका लागि ढाका मेडिकल कलेज अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका आक्रमणकारीहरूले फार्मगेट पार गरेपछि कारवान बजारस्थित स्टार कबाब अगाडि गोली चलाएका थिए। गोली लागेर गम्भीर घाइते भएका मुसब्बिरलाई बीआरबी अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको हो।

द डेली स्टारका अनुसार मुसब्बिर शरियतपुर क्षेत्रका बासिन्दाहरूको समूहसँग सुपर स्टार होटल नजिकै आयोजित कार्यक्रममा सहभागी भई फर्किरहेका थिए। मुसब्बिर र मसूद नजिकैको गल्ली हुँदै हिँडिरहेका बेला दुई जना आक्रमणकारीले गोली चलाएर फरार भएका थिए।

घटनापछि सोना गाउँ चौराहा नजिक बीएनपी समर्थकहरू सहितको समूहले विरोध प्रदर्शन गरेको बताइएको छ। पछिल्लो समय बङ्गलादेशभर राजनीतिक हिंसाका घटनाहरू बढ्दै गएको सन्दर्भमा फेब्रुअरी १२ मा हुने राष्ट्रिय निर्वाचनअघि उक्त घटनाले सुरक्षा र कानून–व्यवस्थाप्रति थप चिन्ता बढाएको विश्लेषण गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट