Techie IT
२०८२ माघ १२, सोमबार

भारतले ७७ औं गणतन्त्र दिवस मनाउँदै


छिमेकी मुलुक भारतले आज (सोमबार) ७७ औं गणतन्त्र दिवस मनाइरहेको छ। भारतमा यही दिन सन् १९५० मा संविधान लागू भएको थियो।

गणतन्त्र दिवसका अवसरमा भारतले आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य क्षमताको प्रदर्शन गर्दै भव्य समारोह आयोजना गरेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार परेडमा हालै गठन गरिएका सैन्य इकाइहरूसँगै ‘अपरेशन सिन्दुर’ का क्रममा प्रयोग गरिएका प्रमुख हतियार प्रणालीहरूको मोडलसमेत प्रस्तुत गरिनेछ।

समारोहमा युरोपियन काउन्सिलका अध्यक्ष एन्टोनियो लुईस सान्तोस दा कोस्टा र युरोपियन आयोगकी अध्यक्ष उर्सुला वान डेर लेयेन प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन्।

भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले कार्यक्रमको अगुवाइ गर्ने बताइएको छ।

परेड सुरु हुनुअघि झण्डै १०० सांस्कृतिक कलाकारले ‘विविधतामा एकता’ विषयमा विशेष प्रस्तुति दिने बीबीसी हिन्दीले उल्लेख गरेको छ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले ७७ औं गणतन्त्र दिवसका अवसरमा सामाजिक सञ्जाल एक्समार्फत देशवासीलाई शुभकामना दिएका छन्।

उनले लेखेका छन्, “भारतको आन–बान र शानको प्रतीक यो राष्ट्रिय पर्वले तपाईंहरूको जीवनमा नयाँ ऊर्जा र उत्साह भरोस्। विकसित भारतको संकल्प अझ सुदृढ बनोस्, यही कामना छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट