इरानबाट २-३ हप्तामै अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सैन्य अभियान चाँडै समाप्त हुने र आगामी दुईदेखि तीन हप्ताभित्रै अमेरिकी सेना फिर्ता गरिने घोषणा गरेका छन्। ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले इरानमाथि गरिएका हवाई आक्रमण र सैन्य कारबाहीको उद्देश्य पूरा भइसकेको दाबी गरे।
गत महिना इसरायल सँगको समन्वयमा सुरु गरिएको उक्त कारबाहीको मुख्य लक्ष्य इरानको आणविक हतियार प्राप्त गर्ने क्षमतालाई ध्वस्त पार्नु रहेको र त्यो लक्ष्य हासिल भइसकेको ट्रम्पको भनाइ छ। उनका अनुसार अहिले अमेरिकी सेनाले ‘अन्तिम चरणका काम’ पूरा गरिरहेको छ।
ट्रम्पले इरानको आकाशमा पूर्ण रूपमा अमेरिकी नियन्त्रण रहेको दाबी गर्दै इरानी सैन्य शक्ति र पूर्वाधारहरू ध्वस्त पारिएको बताए। साथै, इरानका वरिष्ठ राजनीतिक तथा सैन्य नेताहरूको मृत्युपछि त्यहाँ नेतृत्व परिवर्तन भइसकेको र नयाँ नेतृत्व पहिलेभन्दा कम कट्टरपन्थी तथा बढी व्यवहारिक भएको उनको धारणा छ। उनले इरानको नौसेना र समग्र सैन्य संरचना निष्क्रिय बनेको भन्दै हाल कुनै उल्लेखनीय प्रतिरोध नरहेको पनि दाबी गरे।
उनले इरानले वार्ताका लागि आग्रह गरिरहेको उल्लेख गर्दै औपचारिक सम्झौता भए पनि वा नभए पनि अमेरिकाले तोकिएको समयमै इरान छाड्ने स्पष्ट पारे। इरानले भविष्यमा आणविक हतियार बनाउन नसक्ने सुनिश्चित भएपछि मात्रै पूर्ण रूपमा फिर्ता हुने उनको भनाइ छ।
इरानले अमेरिकी प्रविधि कम्पनीहरूलाई दिएको धम्कीबारे टिप्पणी गर्दै ट्रम्पले व्यङ्ग्यात्मक शैलीमा प्रतिक्रिया दिएका छन्। उनले इरानसँग अब ‘सानो खेलौना बन्दुक’ बाहेक केही बाँकी नरहेको दाबी गर्दै त्यस्ता धम्कीहरूको कुनै अर्थ नरहेको बताए।
युद्धका कारण बढ्दो इन्धन मूल्यबारे बोल्दै उनले अमेरिकी सैन्य अभियान अन्त्य हुनासाथ अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्ने आश्वासन दिए। इरानसँगको युद्धमा अमेरिकाले पूर्ण विजय हासिल गरिसकेको भन्दै त्यहाँ थप समय रहिरहनुको औचित्य नरहेको उनले दोहोर्याए।
यद्यपि, इरानले भने यसअघि नै यस्ता दाबीहरूको खण्डन गर्दै आएको छ र ट्रम्पका भनाइप्रति औपचारिक प्रतिक्रिया फरक रहने संकेत गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस