अमेरिकी लडाकु विमानहरू खसाएको भन्दै इरानको सनसनीपूर्ण दाबी, पेन्टागन मौन
इरानले अमेरिकी लडाकु विमानहरू खसाएको भन्दै सनसनीपूर्ण दाबी गरेको छ। शुक्रबार इरानले दुई सिटे एफ–१५ई स्ट्राइक इगल लडाकु विमान आफ्नो भू–भागभित्र खसालेको दाबी गरेको हो।
उक्त विमानका एक चालकलाई उद्धार गरिएको भए पनि अर्का चालक अझै बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एशोसिएटेड प्रेस (एपी)ले जनाएको छ। पेन्टागनका अधिकारीहरूले पनि अर्का चालकको अवस्था अज्ञात रहेको भन्दै अमेरिकी संसदको हाउस आर्म्ड सर्भिसेज कमिटीलाई जानकारी गराएका छन्।
अर्को अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इरानले पहिलो पटक एफ–१५ लडाकु विमान खसाएको दाबी गरेको हो। यसैबीच, इरानले शुक्रबार नै अर्को ए–१० वार्थहग लडाकु विमान कुवेतमा खसाएको दाबी गरेको छ। सो विमानका पाइलटले भने प्यारासुटमार्फत ज्यान जोगाएको बताइएको छ।
यद्यपि, एक अमेरिकी अधिकारीले उक्त विमान खस्नुमा इरानी हमलाको भूमिका पुष्टि भइनसकेको बताएका छन्। बेपत्ता एफ–१५ का चालकको खोजीका लागि पठाइएका दुई ब्ल्याकहक हेलिकप्टरमाथि समेत इरानी आक्रमण भएपछि ती हेलिकप्टर फर्किन बाध्य भएको रोयटर्सले उल्लेख गरेको छ। हेलिकप्टर भने सुरक्षित रहेका छन्।
यस घटनापछि इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आईआरजीसी)ले पनि खोजी अभियान तीव्र बनाएको छ। बेपत्ता व्यक्तिलाई फेला पार्ने वा मार्ने व्यक्तिलाई पुरस्कार दिने घोषणा समेत गरिएको छ।
एपीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। रोयटर्सले भने ट्रम्प ह्वाइट हाउसबाट उद्धार अभियानको नियमित अपडेट लिइरहेको जनाएको छ।
यसअघि पनि इरानले दोस्रो एफ–३५ ‘स्टेल्थ’ लडाकु विमान खसाएको दाबी गरेको थियो। आईआरजीसीको एयर डिफेन्स प्रणालीले मध्य इरानमा सो विमान खसाएको दाबी गरिए पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। बेलायती पत्रिका ‘द गार्डियन’ले पनि उक्त दाबी पुष्टि नभएको उल्लेख गरेको छ।
एफ–३५ ‘फिफ्थ जेनेरेसन’को अत्याधुनिक लडाकु विमान हो, जसलाई ट्र्याक गर्न कठिन मानिन्छ। यसको मूल्य करिब १० करोड डलर रहेको बताइन्छ। अमेरिकाले यसअघि यस्तो विमान कसैले पनि खसाल्न नसकेको दाबी गर्दै आएको थियो।
यता, ट्रम्पले इरानलाई पूर्ण रूपमा कमजोर बनाइसकेको दाबी गरेका थिए। तर पछिल्ला घटनाक्रमले अमेरिका र इजरायलले इरानको आकाशमा पूर्ण नियन्त्रण कायम गरेको दाबीमाथि प्रश्न उठाएको विश्लेषण गरिएको छ।
फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वमा हालसम्म ठूलो मानवीय क्षति भएको छ। एपीका अनुसार इरानमा मात्र १,९०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने खाडी क्षेत्र, वेस्ट बैंक र इजरायलमा पनि दर्जनौंले ज्यान गुमाएका छन्।
रोयटर्सका अनुसार हालसम्म १३ अमेरिकी सैनिक मारिएका छन् भने ३०० भन्दा बढी घाइते भएका छन्। साथै, लेबननमा १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस