स्ट्रेट अफ हर्मुजमा ट्रम्पद्वारा ‘नाकाबन्दी’को चेतावनी, विश्व बजारमा त्रास
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनालाई स्ट्रेट अफ हर्मुजमा प्रवेश गर्ने वा बाहिरिने जहाजहरूलाई ‘ब्लकेड’ (नाकाबन्दी) गर्न निर्देशन दिएको बताएका छन्। उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत यस्तो चेतावनी सार्वजनिक गरेका हुन्।
ट्रम्पका अनुसार हालै भएको वार्तामा धेरै विषयमा सहमति जुटे पनि मुख्य विषय “न्यूक्लियर”मा सहमति हुन सकेन। उनले इरानले स्ट्रेट अफ हर्मुज क्षेत्रमा असुरक्षा सिर्जना गर्दै समुद्री माइनको खतरा देखाएर अन्तर्राष्ट्रिय जहाजहरूको स्वतन्त्र आवागमन रोक्ने प्रयास गरेको आरोप लगाए।
उनले अमेरिकी नौसेनालाई अन्तर्राष्ट्रिय पानीमा इरानलाई शुल्क तिरेका जहाजहरूलाई रोक्न निर्देशन दिइएको पनि बताएका छन्। साथै, इरानले राखेको भनिएको समुद्री माइनहरू नष्ट गर्ने अभियान सुरु गरिने दाबी गरेका छन्।
ट्रम्पले कडा चेतावनी दिँदै भनेका छन्, “जो कोहीले अवैध शुल्क तिर्छ, उसलाई उच्च समुद्रमा सुरक्षित मार्ग हुने छैन।” उनले थप चेतावनी दिदै भने “यदि कुनै इरानी पक्षले अमेरिकी वा अन्य शान्तिपूर्ण जहाजमाथि आक्रमण गर्छ भने त्यसको कडा सैन्य जवाफ दिइनेछ।”
स्ट्रेट अफ हर्मुज विश्वकै सबैभन्दा संवेदनशील तेल आपूर्ति मार्गमध्ये एक भएकाले यस क्षेत्रमा बढ्दो तनावले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा सुरक्षामा गम्भीर असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस