हर्मुज खोल्न जर्मनीको दबाब
जर्मनीका विदेशमन्त्री जोहान वाडेफुल ले आइतबार इरानका विदेशमन्त्री अब्बास अराघची सँगको टेलिफोन वार्तामा ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनमा ल्याउन आग्रह गरेका छन्। साथै, उनले इरानलाई आफ्नो आणविक हतियार कार्यक्रम त्याग्न पनि सुझाएका छन्।
जर्मनीको विदेश मन्त्रालयका अनुसार वाडेफुलले वार्तामार्फत अमेरिका–इरानबीचको तनाव अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भने - “जर्मनी वार्ताको माध्यमबाट युद्ध अन्त्य गर्ने समाधानको पक्षमा दृढ छ।”
उनले अमेरिकी विदेशमन्त्री मार्को रुबिओको धारणा दोहोर्याउँदै इरानले पूर्ण रूपमा आणविक हतियार कार्यक्रम त्याग्नुपर्ने र ‘स्ट्रेट अफ हर्मुज’ खुला राख्नु अन्तर्राष्ट्रिय समुदायको साझा लक्ष्य रहेको उल्लेख गरे।
यसैबीच, जर्मनीले अमेरिका र युरोपबीच देखिएको तनाव कम गर्ने प्रयास पनि गरिरहेको छ। हालैका दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिक मर्ज बीच व्यापार र कूटनीतिक विषयमा मतभेद देखिएको छ।
चान्सलर मर्जले वार्तामा अमेरिकाले इरानलाई ‘अपमानित’ गरिरहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताएका छन्। यता, ट्रम्प प्रशासनले जर्मनीस्थित अमेरिकी सैन्य आधारबाट करिब ५ हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ भने युरोपेली संघबाट आयात हुने सवारीसाधनमा कर १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउने निर्णय पनि गरेको छ।
नयाँ करले विशेषगरी जर्मनीका ठूला अटो उद्योगहरू प्रभावित हुने देखिएको छ। साथै, इरान–अमेरिका–इजरायलबीचको तनावपछि लागू भएको युद्धविरामपछि पनि स्थायी समाधानतर्फ खासै प्रगति हुन नसकेको चिन्ता बढ्दै गएको छ।
ट्रम्पले तेहरानले प्रस्तुत गरेको नयाँ प्रस्तावको समीक्षा भइरहेको बताउँदै इरानले अझै “ठूलो मूल्य चुकाउन बाँकी” रहेको टिप्पणी गरेका छन्। उता, इरानको रिभोलुसनरी गार्ड्सले अमेरिकालाई ‘असम्भव कारबाही वा खराब सम्झौता’ मध्ये एक रोज्नुपर्ने चेतावनी दिएको छ।
विशेषज्ञहरूका अनुसार विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द हुँदा विश्व अर्थतन्त्रमा ठूलो असर पर्न सक्छ। त्यसैले युरोपेली नेताहरूले यसको सञ्चालन निरन्तर राख्न विशेष चासो दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस