इजरायलद्वारा लेबनानमा सैन्य कारबाही तीव्र, ३३ सयभन्दा बढीको मृत्यु
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इरान समर्थित सशस्त्र समूह हिज्बुल्लाह विरुद्धको लडाइँलाई लेबनानको अझ गहिराइसम्म विस्तार गर्न सेनालाई निर्देशन दिएका छन्। करिब ६ हप्ताअघि युद्धविराम घोषणा गरिए पनि दुवै पक्षबीचको भीषण संघर्ष रोकिएको छैन।
लेबनानमा जारी यो युद्ध इरानसँगको द्वन्द्वकै सबैभन्दा ठूलो क्षेत्रीय विस्तार बनेको छ। गत मार्च २ देखि हिज्बुल्लाहले इरानको समर्थनमा इजरायलतर्फ रकेट र ड्रोन आक्रमण सुरु गरेपछि इजरायलले प्रतिशोधात्मक हवाई आक्रमण र नागरिकलाई सुरक्षित स्थानमा सर्न आदेश जारी गरेको थियो। यसका कारण हालसम्म १२ लाखभन्दा बढी लेबनानी नागरिक विस्थापित भइसकेका छन्।
लेबनानी सरकारका अनुसार इजरायली सैन्य कारबाहीमा हालसम्म ३ हजार ३७० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। उता, सोही अवधिमा आफ्ना २४ सैनिक र ४ सर्वसाधारणको मृत्यु भएको इजरायलको दाबी छ। हिज्बुल्लाहको आक्रमणका कारण उत्तरी इजरायलका दशौँ हजार नागरिक पनि विस्थापित छन्।
पछिल्लो सैन्य अग्रसरताका क्रममा इजरायली सेनाले दक्षिणी लेबनानस्थित ९ सय वर्ष पुरानो ऐतिहासिक 'ब्यूफोर्ट किल्ला' र एक रणनीतिक पहाडी क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ। युद्धविराम यताकै सबैभन्दा तीव्र हिज्बुल्लाह आक्रमणको जवाफमा इजरायलले यो कदम चालेको हो। लेबनानमा हिंसा चर्किएपछि फ्रान्सले सोमबारका लागि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन माग गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस