Techie IT
२०८३ जेष्ठ २७, बुधबार

चीनलाई इयुको प्रतिबन्धको चेतावनी, बेइजिङले भन्यो - ‘राष्ट्रिय हित जोगाउन कडा कदम चाल्छौँ’


युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरिरहेको युरोपेली सङ्घ (इयु) लाई चीनले कडा चेतावनी दिएको छ। बेइजिङले आफ्ना कम्पनीहरूलाई लक्षित गरी प्रतिबन्ध लगाए राष्ट्रिय हित र वैध अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्ने जनाएको छ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता इयुले मस्कोविरुद्ध विभिन्न चरणमा प्रतिबन्ध लागू गर्दै आएको छ। अहिले प्रस्ताव गरिएको नयाँ प्रतिबन्ध प्याकेजले रुसी सैन्य संरचनालाई सहयोग गरेको आरोप लागेका तेस्रो मुलुकका कम्पनीहरूको व्यापारिक गतिविधिलाई थप सीमित गर्ने लक्ष्य राखेको छ।

इयु अधिकारीहरूका अनुसार प्रस्तावित सूचीमा मुख्यभूमि चीन र हङकङका १४ कम्पनी समावेश छन्। ती कम्पनीहरूलाई युरोपेली वस्तु तथा प्रविधि खरिदमा प्रतिबन्ध लगाउने तयारी गरिएको छ। यद्यपि यस्तो प्रतिबन्ध लागू हुन इयुका सबै २७ सदस्य राष्ट्रको सर्वसम्मत समर्थन आवश्यक पर्नेछ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय कानुनको आधारबिना लगाइने एकपक्षीय प्रतिबन्धको चीनले सधैँ विरोध गर्दै आएको बताए। उनले यस विषयमा युरोपेली पक्षसमक्ष पटक–पटक गम्भीर चासो र आपत्ति जनाइएको पनि उल्लेख गरे।

“चीनले घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको छ र आफ्नो वैध अधिकार तथा हितको दृढतापूर्वक रक्षा गर्न आवश्यक कदम चाल्नेछ,” लिनले चेतावनी दिए।

युक्रेन युद्धमा विशेषगरी ड्रोन प्रविधिको प्रयोग निर्णायक बन्दै गइरहेका बेला विश्वव्यापी नागरिक ड्रोन बजारमा चिनियाँ कम्पनीहरूको बलियो उपस्थितिका कारण केही उत्पादन सैन्य प्रयोजनमा समेत प्रयोग हुन सक्ने आशङ्का पश्चिमी मुलुकहरूले व्यक्त गर्दै आएका छन्। तर बेइजिङले आफूले युद्धरत कुनै पनि पक्षलाई घातक सैन्य सहायता नपठाएको र युक्रेन युद्धमा तटस्थ भूमिका निर्वाह गरिरहेको दाबी दोहोर्याएको छ।

इयुले भने रुसको युद्ध क्षमता कमजोर पार्न थप दबाब आवश्यक रहेको जनाएको छ। इयुकी विदेश नीति प्रमुखले मङ्गलबार सामाजिक सञ्जालमार्फत प्रस्तावित प्रतिबन्ध प्याकेजलाई पछिल्ला दुई वर्षभन्दा बढी अवधिकै सबैभन्दा व्यापक सूचीकरण भएको बताएकी थिइन्।

उनका अनुसार नयाँ उपायहरू विशेषगरी वित्तीय क्षेत्र, ऊर्जा उद्योग तथा ड्रोन उत्पादनसँग सम्बन्धित संरचनामाथि केन्द्रित छन्। “एक–एक इँटा हटाउँदै हामी रुसको युद्ध अर्थतन्त्रको जग कमजोर बनाइरहेका छौँ,” उनले उल्लेख गरेकी छन्।

युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहँदा रुसमाथिको दबाब बढाउने पश्चिमी प्रयास र त्यसविरुद्ध चीनको प्रतिरोधले बेइजिङ र ब्रसेल्सबीचको सम्बन्धमा थप तनाव उत्पन्न हुने सङ्केत देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट