अमेरिकाले सम्झौता गर्दैमा मान्न बाध्य छैनौँ, इजरायल कुनै बनाना स्टेट होइन : राष्ट्रिय सुरक्षा मन्त्री बेन
अमेरिका र इरानबिच घोषणा गरिएको युद्धविराम सम्झौतालाई इजरायलले नमान्ने स्पष्ट चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबिच ऐतिहासिक सम्झौता भएको घोषणा गरेलगत्तै इजरायलको दक्षिणपन्थी सरकारका तर्फबाट यस्तो कडा प्रतिक्रिया आएको हो।
इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन ग्वेरले ट्रम्पले गरेको उक्त सम्झौता जेरुसेलम (इजरायल) का लागि कुनै पनि हालतमा बाध्यकारी नभएको बताएका छन्। उनले इजरायल अमेरिकी अधिनस्थ वा उसको इशारामा चल्ने राष्ट्र नभएको जिकिर गर्दै आफ्नो देश पूर्ण रूपमा स्वतन्त्र र सार्वभौम रहेको स्पष्ट पारे।
आफ्नो सामाजिक सञ्जालमा लेख्दै मन्त्री ग्वेरले इजरायलको पहिलो र अन्तिम दायित्व आफ्ना नागरिक, यहुदी समुदाय र इजरायली सेना (IDF) प्रति मात्रै रहेको बताए। अन्तर्राष्ट्रिय दबाबका अगाडि झुक्दा इजरायलले विगतमा ठुलो मूल्य चुकाउनुपरेको स्मरण गराउँदै उनले यस पटक सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगर्ने अडान लिए।
अमेरिका र राष्ट्रपति ट्रम्पप्रति कृतज्ञता प्रकट गर्दै मन्त्री ग्वेरले चेतावनीपूर्ण भाषामा भने- "हामी यो कुरा स्पष्ट पार्न चाहन्छौँ कि हामी अमेरिकासँग प्रेम गर्छौँ र राष्ट्रपति ट्रम्पप्रति आभारी पनि छौँ। तर, इजरायल कुनै 'बनाना स्टेट' (कठपुतली राज्य) होइन। त्यसैले अमेरिकाले आफ्नो स्वार्थका लागि गर्ने सम्झौता पालना गर्न हामी कत्ति पनि बाध्य छैनौँ।"
उनले लेबनानबाट हुने जुनसुकै खालका ड्रोन वा मिसाइल आक्रमणको जवाफ इजरायलले आफ्नै ढंगले दिने र हिजबुल्लाहको पूर्ण अन्त्य नभएसम्म युद्धविराम स्वीकार्य नहुने समेत जिकिर गरेका छन् । यो प्रतिक्रियाले अमेरिका–इजरायल सम्बन्ध र ट्रम्पको मध्यपूर्व शान्ति योजनामा ठुलो धक्का लाग्न सक्ने अनुमान गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस