इरान युद्धका बीच ट्रम्प प्रशासनले माग्यो ८७ अर्ब डलरको आपत्कालीन बजेट
इरानसँग जारी युद्धका कारण बढ्दो सैन्य खर्च व्यवस्थापन गर्न ह्वाइट हाउसले अमेरिकी कङ्ग्रेससँग ८७ अर्ब ६० करोड अमेरिकी डलर बराबरको अतिरिक्त बजेट माग गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान नीति र युद्ध व्यवस्थापनमाथि कङ्ग्रेसमा तीव्र बहस चलिरहेका बेला आएको यो प्रस्तावले अमेरिकी राजनीतिमा नयाँ विवाद सिर्जना गरेको छ।
ह्वाइट हाउसको व्यवस्थापन तथा बजेट कार्यालयले बुधबार कङ्ग्रेसलाई पठाएको पत्रमा इरानसँग सम्बन्धित ‘अपरेसन एपिक फ्युरी’ का तत्काल आवश्यकतासँगै अफ्रिकामा फैलिएको इबोला प्रकोप नियन्त्रण तथा अमेरिकी किसानलाई राहत दिन थप बजेट आवश्यक रहेको उल्लेख गरेको छ।
प्रस्तावित रकममध्ये करिब ७० अर्ब डलर रक्षा मन्त्रालयका लागि छुट्याइएको छ। उक्त रकम सैन्य तयारी, सैनिक कर्मचारीको व्यवस्थापन, युद्धका क्रममा प्रयोग भएका हतियार तथा सामग्रीको पुनः भण्डारण, सञ्चालन खर्च तथा गोप्य सैन्य कार्यक्रम सञ्चालनमा खर्च गरिने जनाइएको छ।
यस अतिरिक्त बजेट प्याकेजमा अमेरिकी किसानलाई सहयोग गर्न ११ अर्ब डलर तथा अफ्रिकामा फैलिएको इबोला महामारी नियन्त्रणका लागि १ अर्ब ४० करोड डलर पनि समावेश गरिएको छ।
त्यस्तै, प्रशासनले वासिङ्टन डीसी र आसपासका क्षेत्रको पुनर्निर्माण तथा पूर्वाधार आयोजनाका लागि ५० करोड डलर र पेन स्टेसनको नवीकरण कार्य सम्पन्न गर्न थप एक अर्ब डलर माग गरेको छ।
यद्यपि इरानसँगको युद्धप्रति अमेरिकी जनसमर्थन कमजोर बन्दै गइरहेका बेला यो अतिरिक्त खर्च प्रस्तावले कङ्ग्रेसमा कडा चुनौती सामना गर्नुपर्ने देखिएको छ। दुवै दलका केही सांसदहरूले युद्धसम्बन्धी थप खर्चप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन्।
यसैबीच, अमेरिकी सिनेटले मङ्गलबार इरानसम्बन्धी युद्ध अधिकार प्रस्ताव पारित गर्दै कङ्ग्रेसको स्वीकृतिबिना राष्ट्रपति ट्रम्पले थप सैन्य कारबाही सुरु गर्न नपाउने व्यवस्था गरेको छ। फेब्रुअरी अन्त्यदेखि सुरु भएको द्वन्द्वपछि पहिलो पटक यस्तो प्रस्ताव कङ्ग्रेसका दुवै सदनबाट पारित भएको बताइएको छ।
सिनेटमा केही रिपब्लिकन सांसदहरूले पनि डेमोक्रेट सांसदहरूसँग मिलेर मतदान गरेपछि राष्ट्रपति ट्रम्प उनीहरूप्रति आक्रोशित बनेका छन्। सामाजिक सञ्जालमार्फत उनले ती चार रिपब्लिकन सिनेटरलाई ‘हारेका व्यक्ति’ को संज्ञा दिँदै उनीहरूले आफ्नो काम कठिन बनाएको टिप्पणी गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस