युद्धविराम उल्लङ्घन जारी रहे इरानको अस्तित्व नै समाप्त पारिदिनेछौँ - राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै युद्धविराम उल्लङ्घन गर्ने शृङ्खला जारी रहे इस्लामिक गणतन्त्र इरानको अस्तित्व नै समाप्त पारिदिने धम्की दिएका छन्। इरानमाथि अमेरिकी वायुसेनाले गरेको पछिल्लो सैन्य आक्रमणको लगत्तै राष्ट्रपतिको यस्तो आक्रामक टिप्पणी सार्वजनिक भएको हो।
अमेरिकी सेनाले दिएको जानकारी अनुसार, हालै पानामाको झण्डा अंकित एक तेल ट्याङ्करमाथि इरानी पक्षबाट निशाना बनाइएपछि त्यसको जवाफस्वरूप यो हवाई हमला गरिएको हो। अमेरिकी लडाकु विमानहरूले इरानभित्र रहेका मिसाइल तथा ड्रोन भण्डारण केन्द्र र राडार प्रणालीहरूलाई लक्षित गरी शक्तिशाली आक्रमण गरेको दाबी गरिएको छ।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत युद्धविराम सम्झौता पुनः उल्लङ्घन भएपछि यो सैन्य कदम चालिएको स्पष्ट पारेका छन्।
राष्ट्रपति ट्रम्पले भने - "उनीहरू (इरान) ले कहिल्यै पाठ नसिक्ने सम्भावना पनि पूर्ण रूपमा छ। यस्तो समय आउन सक्छ, जब हामी संयम अपनाउने अवस्थामा रहने छैनौँ र हामीले सफलतापूर्वक सुरु गरेको कामलाई सैन्य बल प्रयोग गरेर पूर्ण रूपमा टुङ्गोमा पुर्याउन बाध्य हुनेछौँ।"
ट्रम्पले युद्धविरामको पालना नभए अमेरिकाले थप घातक सैन्य कारबाही अघि बढाउने चेतावनी दिँदै त्यसको परिणाम इरानको सर्वनाश हुन सक्ने दाबी गरेका छन्। यो घटनासँगै मध्यपूर्वमा सुरक्षा चुनौती र भू-राजनीतिक तनाव फेरि चरम विन्दुमा पुगेको रक्षा विश्लेषकहरूले जनाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस