Techie IT
२०८३ असार १७, बुधबार

म्यानमारमा सैन्य क्रूरता: गृहयुद्धमा मृत्यु हुनेको सङ्ख्या १ लाख नाघ्यो


म्यानमारमा सन् २०२१ को सैन्य तख्तापलट (कू) पछि भड्किएको गृहयुद्धले मुलुकलाई पूर्ण रूपमा ध्वस्त बनाएको छ। द्वन्द्वसम्बन्धी घटनाको अन्तर्राष्ट्रिय अभिलेख राख्ने संस्था 'सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्क' (एसिएलइडी) का अनुसार सैन्य दमन र विद्रोहीको प्रतिकारमा परी हालसम्म ज्यान गुमाउनेको सङ्ख्या १ लाख नाघेको छ। विश्लेषकहरूले यसलाई अहिले एसियाकै सबैभन्दा क्रूर र घातक सक्रिय द्वन्द्वका रूपमा घोषणा गरेका छन्।

फेब्रुअरी २०२१ मा जननिर्वाचित नेत्री आङ सान सुकीको सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता कब्जा गरेपछि म्यानमारमा प्रतिरोधात्मक आन्दोलन सुरु भएको थियो। लोकतन्त्र समर्थक प्रदर्शनमाथि सेनाले गरेको बर्बर दमनले अन्ततः सशस्त्र विद्रोहको रूप लियो। हाल प्रजातन्त्र समर्थक समूहहरू विभिन्न जातीय सशस्त्र सङ्गठनहरूसँग मोर्चाबन्दी गरी सेनाविरुद्ध निर्णायक युद्ध लडिरहेका छन्। म्यानमारमा अहिले १ हजार २०० भन्दा बढी विद्रोही सशस्त्र समूहहरू सक्रिय छन्।

संयुक्त राष्ट्रसङ्घका अनुसार यो युद्धका कारण म्यानमारमा ३७ लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भई पालमुनि बस्न विवश छन्। देशका हरेक ५ मध्ये १ नागरिक गम्भीर खाद्य असुरक्षा (भोकमरी) को शिकार भएका छन्। याङ्गुनसहितका मुख्य सहरहरूमा 'लक्षित हत्या' (टार्गेट किलपिङ) भइरहेको छ भने विद्रोहीको प्रभाव रहेका क्षेत्रमा सेनाले रुस र चीनबाट आयातित अत्याधुनिक लडाकू विमान प्रयोग गरी निरन्तर बमबारी गरिरहेको छ।

राखाइन राज्यमा सेनाको हवाई आक्रमणमा श्रीमान् गुमाएकी ४९ वर्षीया थेइन आये नु भन्छिन्, "हामीले अपार पीडा भोगिरहेका छौँ, अब कसलाई दोष दिने? यहाँ न्याय मर्‍यो।" यस्तै, मध्य म्यागवे क्षेत्रका अर्का एक बासिन्दाले लोकतन्त्रका लागि लड्दा मारिएका आफ्ना किशोर छोराको युद्धकै कारण अन्तिम धार्मिक संस्कारसमेत गर्न नपाएको पीडा पोखे।

एसिएलइडीका अनुसार म्यानमार विश्वकै दोस्रो सबैभन्दा बढी द्वन्द्वग्रस्त (प्यालेस्टाइनपछि) मुलुक बनेको हो। विद्रोही समूहले केही समयअघि सेनालाई कडा धक्का दिए पनि चीनको गुप्त समर्थन र रणनीतिक चालबाजीका कारण सेनाले पुनः आफ्नो पकड बलियो बनाउन खोजिरहेको छ।

संकट गहिरिएपछि सेनाले फेब्रुअरी २०२४ मा 'अनिवार्य सैनिक भर्ती' कानुन लागू गरी करिब ५० हजार सर्वसाधारण नागरिकलाई बन्दुक समात्न बाध्य पारेको थियो। पूर्वसैनिकहरूका अनुसार कुनै पर्याप्त तालिम बिना नै यी सोझा नागरिकहरूलाई अग्रपङ्क्ति (फ्रन्टलाइन) मा युद्धका लागि खटाइँदा उनीहरू 'तोपको आहारा' मात्र बनिरहेका छन् र मृत्यु हुनेको ग्राफ तीव्र गतिमा बढिरहेको छ।

म्यानमारको यो अनियन्त्रित गृहयुद्धको बाछिटा थाइल्यान्ड र बङ्गलादेशसम्म पुगेको छ, जहाँ लाखौँ शरणार्थीहरू ज्यान जोगाउन पलायन भइरहेका छन्। भयावह कुरा के छ भने, युद्धको फाइदा उठाउँदै सीमावर्ती कानुनविहीन क्षेत्रहरूमा लागुऔषध उत्पादन, तस्करी तथा सशस्त्र समूहहरूको संरक्षणमा अन्तर्राष्ट्रिय अनलाइन ठगी (स्क्याम सेन्टर) केन्द्रहरू तीव्र रूपमा विस्तार भइरहेका छन्, जसले सिङ्गो एसियाकै सुरक्षामा गम्भीर खतरा पैदा गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट