न्युयोर्कका मेयर र ट्रम्पबीच द्वन्द्व: नेतन्याहू कुनै पनि हालतमा पक्राउ नपर्ने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई अमेरिका भ्रमणका क्रममा कुनै पनि हालतमा पक्राउ नगरिने स्पष्ट पारेका छन्।
न्युयोर्क सहरका मेयर जोहरान ममदानीले अन्तर्राष्ट्रिय अपराध अदालत (ICC) को पक्राउ पुर्जीका आधारमा नेतन्याहूलाई न्युयोर्कमा पक्राउ गर्न सकिने संकेत गरेपछि ट्रम्पको यो कडा प्रतिक्रिया सार्वजनिक भएको हो। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ट्रम्पले नेतन्याहू अमेरिकामा रहँदा उनीमाथि कुनै पनि किसिमको कारबाही वा पक्राउ नहुने प्रतिबद्धता जनाएका हुन्।
यसअघि न्युयोर्कका मेयर ममदानीले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघीय महासभा (UNGA) मा सहभागी हुन नेतन्याहू न्युयोर्क आएमा उनलाई हिरासतमा लिन सकिने कानुनी सम्भावनाबारे सहरको कानुन विभागसँग छलफल भइरहेको बताएका थिए। अन्तर्राष्ट्रिय अपराध अदालतले सन् २०२४ मा गाजा युद्धमा युद्ध अपराध गरेको आरोपमा नेतन्याहूप्रति पक्राउ पुर्जी जारी गरेको थियो। सोही पुर्जीलाई कार्यान्वयन गर्दै ममदानीले नेतन्याहूलाई 'युद्ध अपराधी' को संज्ञा दिएका थिए र कानुनी दायराले दिएसम्म उनलाई न्युयोर्क प्रहरीमार्फत नियन्त्रणमा लिइने चेतावनी दिएका थिए।
मेयर ममदानीको भनाइको खण्डन गर्दै ट्रम्पले इजरायलले अमेरिकालाई सहयोग गरिरहेको र इरानविरुद्धको लडाइँमा नेतन्याहूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। उनले इरानले आफ्नै ५२ हजार निर्दोष नागरिकको ज्यान लिएको र दशकौँदेखि अमेरिकी सैनिकहरूको हत्या गर्दै आएको दाबी गर्दै पक्राउ त इरानलाई यो स्थितिमा पुर्याउनेहरूलाई गरिनुपर्ने उल्लेख गरेका थिए । अर्कोतर्फ, इजरायलले पनि मेयर ममदानीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै अन्तर्राष्ट्रिय अपराध अदालतलाई ‘काङ्गारु कोर्ट’ र त्यसको पुर्जीलाई ‘फर्जी’ भनेको छ।
रोचक कुरा के छ भने अमेरिका र इजरायल दुवै अन्तर्राष्ट्रिय अपराध अदालतका सदस्य राष्ट्र होइनन्।



तपाईको प्रतिक्रिया दिनुहोस