Techie IT
२०८३ श्रावण ७, बिहीबार

भारतको विद्यार्थी आन्दोलनको समर्थनमा उत्रिए बलिउड दिग्गज र बुद्धिजीवी


नीट (NEET) परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणको विरोध गर्दै र केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलनरत विद्यार्थीहरूमाथि प्रहरीले बल प्रयोग गरेपछि बलिउडका शीर्ष कलाकार तथा बुद्धिजीवीहरू विद्यार्थीको समर्थनमा खुलेर उत्रिएका छन्।

फिल्म क्षेत्रका चर्चित अभिनेता, अभिनेत्री, गायक तथा विश्लेषकहरूले सामाजिक सञ्जालमार्फत ऐक्यबद्धता जनाउनुका साथै दिल्ली र मुम्बईमा आयोजित प्रदर्शनमा प्रत्यक्ष सहभागी भएर ऐक्यबद्धता जनाएका छन्।

विद्यार्थी आन्दोलनको समर्थन गर्दै बलिउड अभिनेता सलमान खानले जुलाई २२ मा लेखेका छन्, “यो पूर्ण रूपमा शान्तिपूर्ण आन्दोलन थियो। यसले हिंसात्मक रूप लिनुपरेकोमा निकै दुःख लागेको छ। घाइते विद्यार्थी र उनीहरूका परिवारप्रति मेरो हार्दिक सहानुभूति छ। प्रश्नपत्र चुहावट अत्यन्तै गम्भीर अपराध हो। हाम्रा विद्यार्थीहरू राम्रो शैक्षिक प्रणालीका लागि एकजुट भएका छन् र अभिभावकले पनि साथ दिएका छन्।”

उनले विद्यार्थीहरूको लगनशीलताको प्रशंसा गर्दै थपे, “उनीहरूले देखाएको समर्पण, इमानदारी र शिक्षित भारत निर्माण गर्ने प्रतिबद्धताको म सम्मान गर्छु। उनीहरूको साहस र दृढताले देशलाई गर्व गराउनेछ।”

अभिनेत्री आलिया भट्टले जुलाई २३ मा सामाजिक सञ्जालमा लेख्दै विद्यार्थीहरूको हिम्मतले आफूलाई प्रेरित गरेको बताएकी छन्। उनले भनिन्, “आफ्नो अडानमा अडिग प्रत्येक विद्यार्थीको पछाडि एउटा सपना, परिवारको आशा र अनगिन्ती त्याग लुकेको हुन्छ। उनीहरूको आवाज सुनिनुपर्छ।”

यद्यपि उनले विद्यार्थीहरूलाई सचेत गराउँदै थपेकी छन्, “तपाईंहरूको यो पवित्र आन्दोलन र मुद्दा कसैको राजनीतिक स्वार्थको औजार नबनोस्। आन्दोलनमा राजनीतिक अवसरवादीहरू छिर्दा सतर्क हुनुपर्छ। आफ्नै विवेक र आत्मसम्मानका साथ अगाडि बढ्नुहोस्।”

केही कलाकारहरू भने प्रहरी धरपकडका बाबजुद सडकमै उत्रिएका छन्। अभिनेत्री हुमा कुरैशी, उनका भाइ साकिब सलीम र अभिनेता रचित सिंह दिल्लीको जन्तर-मन्तर पुगेर विद्यार्थीहरूसँग ऐक्यबद्धता जनाएका छन्। विद्यार्थीहरू विगत २० दिनदेखि शैक्षिक सुधार र पारदर्शीताको माग गर्दै आन्दोलनरत छन्।

उता मुम्बईमा आयोजित प्रदर्शनमा सहभागी भएकी अभिनेत्री आयशा खानलाई जुलाई २२ मा प्रहरीले नियन्त्रणमा लिएर प्रहरी भ्यानमा राखेको थियो। 'पञ्चायत' सिरिजका अभिनेता रघुवीर यादवले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै भनेका छन्, “निर्दोष विद्यार्थीहरूलाई यति निर्दयी रूपमा कुटिएको देखेर म स्तब्ध छु। मुख छोपेर कसैको आदेशमा विद्यार्थी पिट्नेहरूलाई प्रकृतिले कहिल्यै माफ गर्ने छैन। विद्यार्थीको गल्ती के थियो?”

यस्तै वरिष्ठ अभिनेता नसिरुद्दिन शाहले आक्रोश व्यक्त गर्दै भने, “यदि कुनै अज्ञानी व्यक्तिले देशको नेतृत्व गर्छ भने उसले सिङ्गो देशलाई नै अज्ञानी र निर्मम बनाउन खोज्छ। अनुहारमा मास्क लगाएर हातमा लाठी बोकेका मानिसहरूले मलाई अमेरिकी आइसिइ एजेन्टको याद दिलाउँछन्। आफ्नो सन्तानबारे पनि सोच र सम्झ तिमीहरूको हश्र पनि एकदिन यस्तै हुनेछ।”

अभिनेत्री रत्ना पाठक शाहले महाभारतको 'एकलव्य' को प्रसंग जोड्दै आजका विद्यार्थीहरूलाई 'आधुनिक एकलव्य' को संज्ञा दिएकी छन्। उनले प्रश्न गरिन्, “के सत्तामा बसेका केही व्यक्तिको कुर्ची जोगाउन विद्यार्थीहरूले आफ्नो भविष्य बलिदान दिनुपर्ने हो?”

यस्तै संयुक्त राष्ट्रसंघकी वातावरण सद्भावना दूत दिया मिर्जा र वरिष्ठ कलाकारहरू शबाना आजमी, प्रकाश राज लगायतले पनि जन्तर-मन्तर पुगेर अनशनरत विद्यार्थीहरूलाई समर्थन गरेका छन्। दिया मिर्जाका अनुसार, “असहमतिका आवाज नदबाउनु नै बलियो लोकतन्त्रको पहिचान हो।”

यसअघि जुलाई १८ मा 'सुपर ३०' का अभिनेता ऋतिक रोशनले पनि विद्यार्थीहरूले भोग्नुपरेको मानसिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए। काङ्ग्रेस नेता तथा सांसद शशी थरुड र दिल्ली विश्वविद्यालयकी प्राध्यापक सविता झाका लेखहरूले पनि यस मुद्दालाई थप सतहमा ल्याएका छन्।

थरुडले 'इन्डियन एक्सप्रेस' मा लेख्दै भनेका छन्, “राज्यसत्ता निहत्था प्रदर्शनकारीको नैतिक शक्तिसँग डराउनु भनेको आफ्नै वैधतामाथिको अविश्वास हो। सडकमा आन्दोलन भइरहँदा संसदभित्र विपक्षीका नोटिसहरू खारेज गरिनु लोकतान्त्रिक संस्थाको गम्भीर विफलता हो।”

प्राध्यापक सविता झाले कठोपनिषद्को 'नचिकेता' को प्रसंग उल्लेख गर्दै समाजलाई दमनले नभई संवादले मात्र बचाउन सक्ने उल्लेख गरेकी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट