Techie IT
२०८३ भाद्र १, सोमबार

युक्रेनको भीषण ड्रोन हमलामा रुसको लजिस्टिक्स गोदाम ध्वस्त


रुसले आफ्नो भूमिमा युक्रेनले यस वर्षकै अहिलेसम्मको सबैभन्दा ठूलो ड्रोन हमला गरेको दाबी गरेको छ। रुसी अधिकारीहरूका अनुसार युक्रेनबाट भएका ड्रोन हमलामा परी देशभर कम्तीमा ६ देखि ७ जनाको मृत्यु भएको छ।

रुसको रक्षा मन्त्रालयले रातभरमा करिब ८२२ वटा ड्रोनलाई नष्ट वा अवरोध गरिएको जनाएको छ। तीमध्ये करिब ६ सय वटा ड्रोन राजधानी मस्को र त्यस आसपासका क्षेत्रतर्फ लक्षित थिए भने करिब एकतिहाइ ड्रोन मस्को क्षेत्रमै खसालिएको रुसी अधिकारीहरूले बताएका छन्। मस्को क्षेत्रका गभर्नरका अनुसार पछिल्ला केही वर्षमा राजधानी र आसपासका क्षेत्रमा भएको यो नै सबैभन्दा ठूलो ड्रोन हमला हो।

हमलाका क्रममा रुसी अनलाइन रिटेल कम्पनी ‘वाइल्डबेरिज’को ठूलो लजिस्टिक्स गोदामलाई समेत निशाना बनाइएको थियो। मस्कोको केन्द्रबाट करिब २५ देखि ४५ किलोमिटर टाढा पोडोल्स्क तथा कोलेदीनो क्षेत्रमा रहेको उक्त गोदाममा हमला भएपछि भीषण आगलागी भएको थियो। सो घटनामा तीन जना घाइते भएको बताइएको छ।

यसैगरी, रुसको दक्षिण–पश्चिमी रोस्तोभ क्षेत्रमा १५० भन्दा बढी ड्रोनबाट भएको हमलामा पाँचजनाको मृत्यु भएको छ। युक्रेनसँग सीमा जोडिएको बेलगोरोद क्षेत्रमा यात्रुवाहक बसमा ड्रोन प्रहार हुँदा एक महिलाले ज्यान गुमाएकी छिन् भने मस्को क्षेत्रमा एउटा निजी घरमाथि ड्रोन खस्दा ८३ वर्षीय वृद्धको मृत्यु भएको छ।

यता, युक्रेनमा पनि रुसले गरेको जवाफी ड्रोन तथा क्षेप्यास्त्र हमलामा कम्तीमा पाँचदेखि सातजनाको मृत्यु भएको छ भने ३९ जनाभन्दा बढी घाइते भएका छन्। पछिल्ला दिनहरूमा रुस र युक्रेनबीच हवाई हमलाहरू थप तीव्र बन्दै गएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट