ककरोच जनता पार्टीका प्रमुख दीपकेविरुद्ध जाहेरी दर्ता
भारतको महाराष्ट्रस्थित लातुर जिल्लाको जावलीमा रहेको जिल्ला परिषद् उर्दू विद्यालयमा बिनाअनुमति प्रवेश गरी सरकारी काममा बाधा पुर्याएको तथा शिक्षकहरूलाई धम्की दिएको आरोपमा ककरोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीपकेसहित केही व्यक्तिविरुद्ध प्रहरीले जाहेरी दर्ता गरेको छ।
विद्यालयकी शिक्षिका सय्यद शमशादबानो खैरातालीको उजुरीका आधारमा औसा प्रहरी स्टेसनमा जाहेरी दर्ता गरिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
उजुरीअनुसार दीपके अनुमतिबिना विद्यालय परिसरमा प्रवेश गरी विद्यार्थीहरूसँग बसेर विभिन्न प्रश्न गरेका थिए। त्यस क्रममा पठनपाठन प्रभावित हुनुका साथै विद्यालयको सरकारी कामसमेत प्रभावित भएको आरोप लगाइएको छ।
शिक्षिकाले दीपकेले विद्यालयका शिक्षकहरूलाई निलम्बन गराइदिने धम्की दिएको आरोप पनि लगाएकी छन्। भ्रमणका क्रममा अर्को विद्यालयका विद्यार्थीलाई ल्याएर कक्षाकोठामा राखिएको भन्दै विद्यालयको प्रतिष्ठामा आँच आउने किसिमको अभिव्यक्ति दिएको आरोपसमेत उजुरीमा उल्लेख छ।
प्रहरीका अनुसार घटनाका क्रममा विद्यालयमा भिडियोसमेत खिचिएको र ती सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरिएको आरोप छ।
दीपके नेतृत्वको सीजेपीले भारतका विभिन्न राज्यका सरकारी विद्यालयको अवस्था सार्वजनिक गर्ने उद्देश्यले ‘स्कुल ठीक करो’ अभियान सञ्चालन गरिरहेको छ। अभियान अन्तर्गत स्वयंसेवकहरूले सरकारी विद्यालयको निरीक्षण गरी त्यहाँ रहेका भौतिक पूर्वाधार, शैक्षिक तथा आधारभूत सुविधाका कमजोरीबारे भिडियो तथा विवरण सार्वजनिक गर्दै स्थानीय अधिकारीलाई सुधारका लागि दबाब दिँदै आएका छन्।
जावलीमा भएको घटनामा दीपके र उनका सहयोगीविरुद्ध भारतीय न्याय संहिताका विभिन्न धाराअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि सार्वजनिक सेवामा रहेका कर्मचारीको काममा अवरोध पुर्याएको, अनधिकृत प्रवेश गरेको, आपराधिक धम्की दिएको तथा मानहानिसम्बन्धी आरोप लगाइएको छ।
मुम्बईबाट ५०० किलोमिटरभन्दा बढी दूरीमा रहेको जावलीस्थित विद्यालयमा भएको उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। हालसम्म उनीहरू पक्राउ परेको विवरण सार्वजनिक भएको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस