Techie IT
२०८२ वैशाख २८, आइतबार

शान्तिका लागि रूसी पहल: पुटिनले डाके युक्रेनलाई वार्तामा

रूसले यसअघि नै हालको नियन्त्रणरेखालाई मान्यता दिएर सम्झौता गर्न तयार रहेको बताएको छ ।


रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग दीगो शान्तिका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका छन् । आइतबार क्रेमलिनमार्फत पुटिनले टर्कीको इस्तानबुलमा यही बिहीबार वार्ता गर्न किभलाई औपचारिक प्रस्ताव गरेका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पुटिनले भने, “हामी किभलाई पूर्वसर्तबिना प्रत्यक्ष वार्ता सुरु गर्न प्रस्ताव गर्छौं । किभका अधिकारीहरूलाई बिहीबार इस्तानबुलमा वार्ताका लागि आमन्त्रण गर्दछौं ।”

पुटिनका अनुसार, यस वार्ताका लागि टर्कीका राष्ट्रपति तयिप एर्दोगानलाई पहल गर्न आग्रह गरिएको छ । एर्दोगानले पनि युद्धविरामका लागि तयार रहेको सकारात्मक जवाफ दिएको पुटिनले बताएका छन् ।

“अब निर्णय युक्रेनी नेतृत्वको हातमा छ,” पुटिनले भने, “तर तिनीहरू जनताको हितमा भन्दा पनि व्यक्तिगत तथा राजनीतिक स्वार्थमा निर्देशित देखिन्छन् ।”

युक्रेनी पक्षले भने अहिलेसम्म पुटिनको प्रस्तावमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

रूसी राष्ट्रपति पुटिनले रूस शान्तिका पक्षमा रहेको प्रमाणका रूपमा विभिन्न अस्थायी युद्धविरामहरूको उल्लेख गरेका छन्—जसमा इस्टर पर्वको अवसरमा गरिएको युद्धविराम, ऊर्जा संरचनामा आक्रमण नगर्ने प्रतिबद्धता, र दोस्रो विश्वयुद्धको विजयको ८० औं वर्षगाँठमा गरिएको ७२ घण्टे युद्धविराम पर्छन्। तर ती सबै युद्धविरामको उल्लंघन युक्रेनले गरेको पुटिनको आरोप छ ।

पुटिनका अनुसार, मे महिनामात्रै युक्रेनले रूसमाथि ५२४ ड्रोन, ४५ समुद्री ड्रोन र उत्तिकै संख्यामा मिसाइल आक्रमण गरेको थियो, जुन प्रहार रूसका पाँचवटा क्षेत्रमा केन्द्रित थिए र तीमध्ये अधिकांश निस्तेज पारिएको थियो ।

यसबीच, अमेरिका युद्धविरामका लागि मध्यस्थकर्ताको भूमिकामा देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि दुबै देशलाई सार्वजनिक र व्यक्तिगत रूपमा दबाब दिँदै आएका छन् ।

अमेरिकी मध्यस्थतामा साउदी अरबमा रूसी तथा युक्रेनी अधिकारीहरूसँग छुट्टाछुट्टै वार्ता भएका थिए । ती वार्ताबाट समाधान ननिस्किएपछि ट्रम्पका विशेष दूत स्टिभ विटकोफले पुटिनसँग लामो छलफल गरेर सहमतिको प्रयास गरे पनि ठोस परिणाम आउन सकेको छैन ।

रूसले यसअघि नै हालको नियन्त्रणरेखालाई मान्यता दिएर सम्झौता गर्न तयार रहेको बताएको छ । ट्रम्पले यसलाई रूसको ‘लचकता’ को रूपमा व्याख्या गरेका थिए । तर युक्रेनले क्राइमियासहितका रूसी नियन्त्रणका भूभागलाई स्वीकार गर्न नसकिने स्पष्ट अडान लिएको छ ।

हालै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्राइमियालाई कहिल्यै रूसी भूभागका रूपमा नस्विकार्ने बताएका थिए, जसपछि ट्रम्पले ती अभिव्यक्तिले सम्भावित शान्ति सम्झौता भाँडिन सक्ने चेतावनी दिएका थिए ।

यसैबीच, अमेरिका र युक्रेनबीच खनिज उत्खनन र विकाससम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार युक्रेनको विकासका लागि संयुक्त लगानी कोष समेत स्थापना गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट