ट्रम्पको ‘श्वेत नरसंहार’ दावीले दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसासँगको भेट तनावपूर्ण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ओभल अफिसमा दक्षिण अफ्रिकी समकक्षी सिरिल रामाफोसासँगको भेटका क्रममा एक विवादास्पद भिडियो प्ले गरेर वातावरणलाई अप्रत्याशित रूपमा तनावपूर्ण बनाएका छन् । उनले उक्त भिडियोमार्फत दक्षिण अफ्रिकामा श्वेत मानिसहरू, विशेषतः किसानहरू, विरुद्ध नरसंहार भइरहेको दावी गरेका थिए ।
ट्रम्पले पत्रकारहरूको उपस्थितिमा एक ठूलो स्क्रिनमा चार मिनेट लामो भिडियो देखाउँदै दक्षिण अफ्रिकाका केही राजनीतिज्ञहरूले श्वेत किसानहरूलाई निशाना बनाएको तर्क गरे । “तपाईंले उनीहरूलाई जमिन लिन अनुमति दिनुहुन्छ, र त्यसपछि उनीहरूले श्वेत किसानहरूलाई मार्छन्,” ट्रम्पले टिप्पणी गरे । उनले ‘मृत्यु, मृत्यु, मृत्यु – भयानक मृत्यु’ भनेर भिडियोको प्रभाव अझ प्रष्ट पारे।
तर, ट्रम्पद्वारा प्रस्तुत गरिएको समाचार क्लिपमध्ये एकमा कङ्गोको तस्बिर समेत समावेश थियो, जसले उनको दाबीको तथ्यपरकता प्रति प्रश्न उठाएको छ ।
दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसा सुरुमा स्तब्ध भए पनि संयमित रहे । उनले उक्त भिडियोमा देखाइएका व्यक्तिहरू सत्तारूढ दलका नभई विपक्षी दलका भएको बताए । साथै, उनले हालैको विवादास्पद जग्गा कब्जा कानुनका नाममा श्वेत किसानहरूबाट जबर्जस्ती जग्गा लिएको भन्ने आरोप अस्वीकार गरे ।
“होइन, होइन, होइन – कसैले पनि जमिन लिन सक्दैन,” रामाफोसाले प्रतिक्रिया दिए ।
उक्त भेटलाई दुबै देशबीच बिग्रँदो सम्बन्ध सुधार गर्ने अवसरको रूपमा हेरिएको थियो । ट्रम्पका दक्षिण अफ्रिकामा जन्मेका सहयोगी एलन मस्क पनि ओभल अफिसमै उपस्थित थिए । मस्क ‘श्वेत नरसंहार’ सन्देशको प्रचारकको रूपमा चिनिन्छन् ।
रामाफोसा अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘मनाउने’ उद्देश्यसहित दक्षिण अफ्रिकाका प्रख्यात गल्फरहरू अर्नी एल्स र रेटिफ गुसेनलाई साथ लिएर ह्वाइट हाउस पुगेका थिए । तर, भिडियो प्ले भइरहँदा ट्रम्पले बारम्बार रामाफोसाको बोल्ने प्रयासलाई रोक्दै भिडियो हेर्नमा जोड दिएका थिए ।
भिडियोमा दक्षिण अफ्रिकी विपक्षी नेता जुलियस मालेमालाई ‘बोअरलाई मार, किसानलाई मार’ भनिरहेको देखाइएको थियो, जुन रंगभेदी शासनकालमा प्रचलित नारा थियो । अन्त्यमा मारिएका किसानहरूको सम्झनामा सडक छेउमा राखिएका सेता क्रसहरूको दृश्य देखाइएको थियो, जसलाई ट्रम्पले चिहान ठाने ।
उक्त गम्भीर कुराकानीका बीच रामाफोसाले “हामीलाई नेल्सन मण्डेलाले सिखाउनुभएको थियो, समस्याबारे टेबल वरिपरि बसेर कुराकानी गर्नुपर्छ,” भन्दै शान्तिपूर्ण वार्ताको आग्रह गरे ।
दुई गल्फरहरू एल्स र गुसेनले पनि स्थितिलाई शान्त पार्ने प्रयास गरे । एल्सले “हामी हाम्रो देशमा सबै कुरा राम्रो होस् भन्ने चाहन्छौं,” भनेका थिए ।
भेटपछि रामाफोसाले संवादलाई "ठूलो सफलता" भने र आगामी नोभेम्बरमा जोहानेसबर्गमा हुने जी–२० शिखर सम्मेलनमा ट्रम्पको सहभागिताको अपेक्षा व्यक्त गरे । उनले ट्रम्प उक्त भिडियोमा देखाइएको नरसंहारमा पूर्ण विश्वास गर्दैनन् भन्ने विश्वाससमेत व्यक्त गरे । “अन्ततः, मलाई लाग्छ उहाँको मनमा शङ्का र अविश्वास छ,” उनले पत्रकारहरूलाई भने।
ट्रम्प प्रशासनले दक्षिण अफ्रिकासँगको सम्बन्धमा कठोर नीति अपनाउँदै आएको छ – जसअन्तर्गत गाजामा इजरायलविरुद्धको मुद्दामा दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय न्यायालयमा प्रस्तुत गुनासोको आलोचना, विदेशी सहायता कटौती, उच्च भन्सार घोषणा र राजदूत निष्कासनजस्ता कदमहरू सामेल छन्।
तपाईको प्रतिक्रिया दिनुहोस