दलीय राजनीतिमा इलन मस्कको हस्तक्षेप कति सम्भव होला ?
मस्कले पार्टी घोषणाअघि एक्समा सर्वे गरेका थिए । सर्वेमा धेरै प्रयोगकर्ताले नयाँ दलको आवश्यकता रहेको जनाएपछि उनले पार्टी गठनको निर्णय लिएको उल्लेख गरेका छन् ।

अमेरिकी उद्योगपति तथा बहुराष्ट्रिय कम्पनीहरू टेस्ला र स्पेसएक्सका संस्थापक इलन मस्कले ‘अमेरिका पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् । हालै राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सार्वजनिक रूपमै विवाद भएपछि मस्कले नयाँ दल निर्माणको निर्णय सार्वजनिक गरेका हुन् ।
मस्कले आफ्नै स्वामित्वमा रहेको सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा लेख्दै पार्टीले अमेरिकाको दुईदलीय राजनीतिक व्यवस्थालाई चुनौती दिने बताएका छन् । उनका अनुसार रिपब्लिकन र डेमोक्र्याट दुवै पार्टीप्रति असन्तुष्टि राख्ने ८० प्रतिशत मतदाताको आवाज नयाँ पार्टी बन्नेछ ।
हालसम्म ‘अमेरिका पार्टी’ अमेरिकी संघीय निर्वाचन आयोग (FEC) मा कानुनी रूपमा दर्ता भएको पुष्टि भने भएको छैन । पार्टीको नेतृत्व, संगठनात्मक संरचना, र भविष्यको योजनाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
मस्कले प्रारम्भिक रूपमा पार्टीले २–३ सिनेट सिट र ८–१० प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने योजना बनाएको बताएका छन् । अमेरिकी प्रतिनिधिसभामा ४३५ सिट र सिनेटमा १०० सिट रहने भए पनि मस्कले थोरै सिटमा ध्यान केन्द्रित गर्ने संकेत दिएको देखिन्छ ।
सन् २०२४ को राष्ट्रपतीय चुनावमा मस्क ट्रम्पका प्रमुख समर्थक थिए । उनले चुनावी अभियानमा अनुमानित २५० मिलियन अमेरिकी डलर सहयोग गरेको अनुमान गरिन्छ । त्यसपछि उनी ट्रम्प प्रशासनको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी’ प्रमुखका रूपमा नियुक्त भएका थिए । तर, बजेट र कर नीतिका विषयमा मतभेद भएपछि मस्कले पद त्याग गरे र सार्वजनिक रूपमै ट्रम्पको आलोचना गर्न थाले ।
मस्कले ट्रम्पको पछिल्लो कर विधेयकलाई ‘देशलाई कंगाल बनाउने’ कदम भनेका थिए । जवाफमा ट्रम्पले मस्कका कम्पनीहरूमाथि अनुदान कटौती गर्ने चेतावनी दिएका थिए ।
मस्कले पार्टी घोषणाअघि एक्समा सर्वे गरेका थिए । सर्वेमा धेरै प्रयोगकर्ताले नयाँ दलको आवश्यकता रहेको जनाएपछि उनले पार्टी गठनको निर्णय लिएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, “हामी अहिले यस्तो प्रणालीमा बाँचिरहेका छौं जसले देशलाई अनावश्यक खर्च र भ्रष्टाचारमार्फत बर्बाद गरिरहेको छ । अब स्वतन्त्रता पुनः प्राप्त गर्न नयाँ पार्टी आवश्यक छ ।”
सीएनएन, सीबीएस, र न्यूयोर्क टाइम्स लगायत प्रमुख अमेरिकी सञ्चारमाध्यमहरूले मस्कको यो कदमलाई ट्रम्पसँगको कटु सम्बन्धको परिणामका रूपमा व्याख्या गरेका छन् । कतारस्थित अलजजिराले राजनीतिक विश्लेषक थोमस गिफ्टलाई उद्धृत गर्दै मस्कको घोषणालाई “राजनीतिक दबाब सिर्जना गर्न गरिएको चाल” भनेका छन् ।
चुनावी विज्ञहरूका अनुसार मस्कले पार्टी दर्ता गर्न कानुनी जटिलताहरू पार गर्नुपर्नेछ । अमेरिकामा ‘ब्यालेट एक्सेस’ प्रणाली अन्तर्गत प्रत्येक राज्यमा छुट्टाछुट्टै हस्ताक्षर संकलन, मान्यता र नियमहरू पालना गर्नुपर्ने हुन्छ ।
अमेरिकाको इतिहासमा तेस्रो दलहरूले कहिलेकाहीँ लोकप्रिय मत त पाएका छन्, तर इलेक्टोरल भोट जित्न भने अत्यन्त कठिन देखिएको छ। उदाहरणका लागि, सन् १९९२ मा रोस पेरोटले १९ प्रतिशत मत पाउँदा पनि एक इलेक्टोरल भोट जित्न सकेनन् ।
वर्तमानमा पनि अमेरिकी निर्वाचन प्रणाली ‘विनर टेक्स अल’ प्रणालीमा आधारित भएकाले सानो दलहरूले सिट जित्न कठिन हुने विश्लेषकहरूको भनाइ छ ।
तपाईको प्रतिक्रिया दिनुहोस