Techie IT
२०८२ पौष १, मंगलबार

स्याङ्जाको कृषक समूहले सुन्तला बेचेर भित्र्यायो ८७ लाख


स्याङ्जाको एउटा कृषक समूहले यस वर्ष मात्र ८७ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरी उल्लेख्य आम्दानी गरेको छ। स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका-७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तलाखेतीमार्फत गाउँमै ८७ लाख रुपैयाँ भित्र्याएको हो।

विगतमा कोदो र मकै उत्पादन हुने जमिनमा नगदेबालीका रूपमा सुन्तलाखेती सुरु गरेपछि गाउँको आम्दानी उल्लेख्य रूपमा बढ्दै गएको समूहका अध्यक्ष यामबहादुर सेनले जानकारी दिए।

हाल अर्बकुना सुन्तला उत्पादन कृषक समूहमा ३१ जना किसान आबद्ध छन्। समूहमा आबद्ध किसानहरूले न्यूनतम १ लाखदेखि अधिकतम १५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको अध्यक्ष सेनले बताए। “पहिले कोदो र मकै मात्रै उत्पादन हुने जमिनमा अहिले प्रत्येक घरले नगदेबालीका रूपमा सुन्तलाखेती गर्न थालेपछि राम्रो आम्दानी भइरहेको छ,” उनले भने।

पछिल्लो समय गाउँका सबै घरधुरीलाई समूहमा आबद्ध गराउँदै सामूहिक रूपमा सुन्तलाखेती विस्तार गर्दै लगिएकाले आगामी वर्षहरूमा उत्पादन र आम्दानी थप वृद्धि हुने अध्यक्ष सेनको दाबी छ। “पुराना बोटबाट उत्पादन भइरहेको छ भने नयाँ बोट थप्ने क्रम पनि निरन्तर चलिरहेको छ,” उनले भने, “आगामी वर्ष मात्रै यस समूहबाट एक करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री हुने अपेक्षा गरेका छौँ।”

यहाँ उत्पादन भएको सुन्तला किसानले आफैँ वा समूहमार्फत बिक्री गर्दै आएका छन्। कतिपय किसानले बगैँचा नै स्थानीय व्यापारीलाई ठेक्कामा दिने गरेका छन् भने केहीले फुटकर रूपमा बिक्री गर्ने गरेका छन्।

किसानहरूले बोटमा लागेको उत्पादनको आधारमा व्यापारीसँग बोलकबोल गरी मूल्य निर्धारण गर्ने गरेका छन्। केही किसानले प्रतिकेजी ६० देखि ७० रुपैयाँका दरले सुन्तला बिक्री गरेका छन्। उत्पादन र आम्दानीको विवरण समूहमार्फत समय-समयमा समीक्षा गरिने अध्यक्ष सेनले बताए। सामूहिक बैठकमार्फत बजारीकरण, मूल्य निर्धारण, देखिएका समस्या र समाधानका उपायबारे छलफल गर्दै सहकार्यलाई मजबुत बनाइँदै आएको उनले जानकारी दिए।

स्वादिष्ट सुन्तला उत्पादनका लागि स्याङ्जा जिल्ला छुट्टै पहिचान राख्ने क्षेत्रका रूपमा चिनिँदै आएको छ। जिल्लामा सुन्तला उत्पादनको सम्भावना र विस्तारलाई ध्यानमा राख्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला सुपरजोन सञ्चालनमा छ। विसं २०७३-७४ देखि सुन्तला जोन हुँदै सुपरजोनमा रूपान्तरण भएपछि जिल्लामा सुन्तलाका बगैँचा विस्तारले तीव्रता पाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट