Techie IT
२०८२ श्रावण १९, सोमबार

सुक्खाग्रस्त मधेशमा भारी वर्षाले दियो राहत, अझै थप वर्षाको सम्भावना


लामो समयदेखि वर्षाविहीन भई सुक्खाग्रस्त बनेको मधेशमा पछिल्लो २४ घण्टामा भएको भारी वर्षाले केही राहत दिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, बर्खाको मौसममा पहिलोपटक मधेशका केही जिल्लामा उल्लेख्य वर्षा मापन गरिएको छ।

सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको मधेशमा रोपाइँसमेत प्रभावित भएको थियो। तर शुक्रबारदेखि सुरु भएको वर्षाले कृषकहरूमा आशा जागेको छ। मौसम विभागका अनुसार, धनुषाको तुल्सी केन्द्रमा ६३.८ मिलिमिटर तथा हर्दिनाथमा ५१ मिलिमिटर वर्षा मापन गरिएको छ। यस्तै, बाराको अमलेखगञ्जमा ४६.४ र रौतहटको गौरमा ४४.६ मिलिमिटर वर्षा मापन भएको छ।

मौसम विज्ञानका मापदण्डअनुसार ५० देखि १०० मिलिमिटर वर्षालाई भारी वर्षा मानिन्छ भने १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षाको श्रेणीमा राखिन्छ। यो आधारमा धनुषाको तुल्सी र हर्दिनाथमा भारी वर्षा भएको पुष्टि भएको छ।

अन्य जिल्लातर्फ हेर्दा, सर्लाहीमा ३७.६, महोत्तरीको गौशालामा ३२.४ मिलिमिटर वर्षा मापन गरिएको छ। सिरहा र सप्तरीमा भने वर्षा कम मात्रामा मापन भएको छ। ती जिल्लाहरूमा राति केही वर्षा भएपनि बिहानदेखि मौसम खुलेको देखिएको छ।

मौसमविद्हरूका अनुसार, मनसुनको न्यून चापीय रेखा अहिले नेपालतिर सर्ने क्रममा रहेको हुँदा आगामी आइतबारसम्म मधेशका विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। यसले सुक्खाबाट ग्रस्त क्षेत्रहरूमा अझै राहत पुर्‍याउने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट