देशभर मनसुन सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ । मनसुनको न्यूनचापीय रेखा (Low Pressure Line) औसत स्थानको तुलनामा उत्तरतर्फ सरेको छ र नेपालको तराई भूभाग नजिक अवस्थित छ ।
यस प्रणालीको प्रभावले मंगलबार देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ । कोशी र मधेश प्रदेशका केही स्थानहरूमा, साथै अन्य प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कहाँ कति वर्षाको सम्भावना?
दिउँसो: गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
राति: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान अनुसार दिउँसो र राति दुबै समयमा देशभर बदली रहनेछ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ भने अन्य प्रदेशहरूमा पनि छिटफुट वर्षाको अनुमान गरिएको छ।
महाशाखाका अनुसार आगामी केही दिन मनसुन अझ सक्रिय रहने सम्भावना छ। त्यसैले मधेश प्रदेश लगायत अन्य प्रदेशहरूमा बाढी, पहिरो र डुबानको जोखिम रहन सक्ने भएकाले सतर्कता अपनाउन र पछिल्लो मौसमी जानकारी नियमित रूपमा प्राप्त गर्न सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आग्रह गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस