देशभर मनसुनको प्रभाव, यी स्थानमा भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको केही उत्तरतिर र पश्चिमतर्फ नेपालको तराई नजिक अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशभर मनसुनको प्रभाव रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ।
हाल देशभर साधारणतया बदली छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
दिउँसोको मौसम
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा अन्य भूभागका केही स्थानहरूमा मध्यम वर्षा पर्ने सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ।
रातिको मौसम
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती प्रदेशका पहाडी भूभाग र मधेस प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारण र सरोकारवाला निकायलाई अनुरोध गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस