Techie IT
२०८२ असोज २१, मंगलबार

पूर्वका पाँच नदीमा जलसतह खतराको तह पार, बाढीको जोखिम कायमै


अविरल वर्षाका कारण देशभरका पाँच जलमापन केन्द्रमा जलसतह खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पूर्वका चार अन्य केन्द्रमा जलसतह सतर्कता तह नाघेको विभागको तथ्यांकमा उल्लेख छ।

विभागका अनुसार आज मध्याह्न १२:३० बजेसम्म धनकुटास्थित अरुण नदीमा जलसतह ११.२३ मिटर पुगेको छ, जहाँ ११ मिटरलाई खतराको तह मानिन्छ। त्यस्तै त्रिवेणीस्थित तामोर नदीमा जलसतह ११.४७ मिटर पुगेको त्यहाँ खतराको तह १० मिटर हो।

सुनसरीको सप्तकोसी चतरामा जलसतह ७.१३ मिटर पुगेको छ, जहाँ ७ मिटरलाई खतराको तह मानिन्छ। सुनसरी खोलामा ८१.८८ मिटर (खतरा तह ८१.८ मिटर) र इलामको मैनाचुलीस्थित कन्काई नदीमा ५.६१ मिटर (खतरा तह ४.३ मिटर) जलसतह पुगेको विभागले जनाएको छ।

यसका साथै, सिन्धुलीको खुर्कोटस्थित सुनकोसी, धनकुटाको मुलघाटस्थित तामोर, इलामको पुवाखोला र चिसापानीस्थित माइखोला जलमापन केन्द्रहरूमा पनि जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ।

विभागका जलविद् विनोद पराजुलीका अनुसार पूर्वका नदीहरूमा बाढीको खतरा अझै कायम छ भने अन्य नदीहरूको जलसतह सामान्य छ। उनले सम्भावित जोखिम न्यूनीकरणका लागि मोबाइल एसएमएसमार्फत जनतालाई सचेत गराइएको जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट