काठमाण्डौंमा ह्वात्तै बढ्यो चिसो
देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली देखिएको छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।
आज दिउँसो र राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । यद्यपि तराई भूभागमा हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने चेतावनी दिइएको छ ।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे गरिएको सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । यो तापक्रम हिजो (सोमबार) सोही समयमा मापन गरिएको ७.३ डिग्री सेल्सियसको तुलनामा करिब २ डिग्री कम हो ।
यद्यपि हिजो बिहान ८:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस कायम भएको थियो । आजको आधिकारिक न्यूनतम तापक्रम पनि बिहान ८:४५ बजे पुनः मापन गरिने भएकाले सुरुवाती मापनभन्दा तापक्रम अझै घट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैबीच, सोमबार काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका अधिकतम र न्यूनतम तापक्रम विवरण सार्वजनिक गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस