पश्चिम तराईमा चिसो बढ्यो, तापक्रम सरदरभन्दा ९ डिग्रीसम्म घट्यो
नेपालको तराई क्षेत्र, विशेषगरी पश्चिम तराईमा पछिल्ला केही दिनदेखि चिसो अत्यधिक बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार धनगढी, नेपालगन्जलगायतका क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा धेरै तल झरेपछि ‘चिसो दिन’ को अवस्था सिर्जना भएको हो।
मौसमविद् सरोज पुडासैनीका अनुसार डिसेम्बर २३ (हिजो) धनगढीको अधिकतम तापक्रम १३.१ डिग्री सेल्सियस मात्र मापन गरिएको छ, जबकि यस समयमा त्यहाँको सरदर अधिकतम तापक्रम २२.३ डिग्री सेल्सियस रहने गर्छ। सरदरभन्दा करिब ९ डिग्री सेल्सियस कम तापक्रमका कारण स्थानीय जनजीवन प्रभावित हुनुका साथै हवाई उडानसमेत अवरुद्ध भएको छ।
त्यस्तै, नेपालगन्जमा पनि सरदर २२.१ डिग्री सेल्सियस हुनुपर्ने अधिकतम तापक्रम हिजो घटेर १३.१ डिग्री सेल्सियसमा झरेको छ। आज पनि ती क्षेत्रको तापक्रम १५ देखि १७ डिग्री सेल्सियसको आसपास रहने अनुमान गरिएको मौसमविद् पुडासैनीले जानकारी दिए।
तराईदेखि पहाडी खोँचसम्म हुस्सु र कुहिरो
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशभरका तराई भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। तराई–मधेशका अधिकांश क्षेत्रमा भिजिबिलिटी एक किलोमिटरभन्दा कम रहेको छ।
पश्चिम तराईमा हिजो दिनभर घाम लाग्न नसकेको र आज पनि अवस्था उस्तै रहने पूर्वानुमान गरिएको छ। तराईसँगै पहाडी क्षेत्रका खोँच, उपत्यका तथा नदी तटीय क्षेत्रहरूमा समेत हुस्सु लागेको मौसमविद् पुडासैनीले बताए।
काठमाडौँ उपत्यकामा भने बिहान केही हुस्सु लागे पनि दिउँसो घाम लाग्ने प्रक्षेपण गरिएको छ। आज काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको छ, जुन हिजोको ४.९ डिग्री सेल्सियसभन्दा केही बढी हो। आज काठमाडौँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।
जल तथा मौसम विज्ञान विभागले तराईदेखि मधेश प्रदेशसम्मका नागरिकलाई चिसोबाट बच्न विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। घाम नलाग्ने र बाक्लो हुस्सु लाग्ने क्रम आगामी केही दिन जारी रहने देखिएकाले स्वास्थ्य तथा यात्रामा विशेष ध्यान दिन मौसमविद्हरूले सुझाव दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस