Techie IT
२०८२ पौष १०, बिहीबार

कञ्चनपुरसहित पश्चिम तराईमा बाक्लो हुस्सु र शीतलहर, जनजीवन कष्टकर


कञ्चनपुरसहित पश्चिम तराईका जिल्लामा केही दिनदेखि बाक्लो हुस्सु र शीतलहर चलेपछि जनजीवन अत्यन्तै कष्टकर बनेको छ। अत्यधिक चिसो बढेपछि जिल्लाका स्थानीय तहहरूले विद्यालय बन्द गर्नुका साथै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।

अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहहरूले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन थालेका छन्। हालसम्म कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले चिसोका कारण पठनपाठनमा कठिनाइ भएपछि विद्यालयमा बिदा दिएका छन्।

श्रीकृष्ण माध्यमिक विद्यालय, झलारीकी शिक्षक ईश्वरी भट्टले अत्यधिक चिसोका कारण विद्यालय सञ्चालनमा समस्या भइरहेको बताएकी छन् । “चिसोका कारण आगो बालेर पठनपाठन गराउनुपर्ने बाध्यता छ। ससाना बालबालिकामा रुघाखोकी र कठ्याङ्ग्रिने समस्या बढेको छ,” उनले भनिन्। नगरपालिकाले तीन दिन विद्यालय बिदा दिएपछि केही राहत मिल्ने उनले भनिन् ।

हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि जनप्रतिनिधिहरू पनि सुरक्षा सतर्कतामा सक्रिय भएका छन्। कृष्णपुर नगरपालिका–६ का वडाध्यक्ष बाबुराम चौधरीले बिहान र साँझ चिसो अत्यधिक हुने भएकाले विशेष सावधानी अपनाउन नगरवासीलाई आग्रह गरेका छन् ।

यसैगरी लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले चिसोबाट बालबालिका, सुत्केरी, दीर्घरोगी तथा ज्येष्ठ नागरिक बढी प्रभावित हुने भन्दै स्वास्थ्यको विशेष ख्याल राख्न आह्वान गरेका छन् । साथै उनले गाउँपालिकाभित्रका सामुदायिक वनहरूलाई सार्वजनिक चोक तथा बस्तीमा दाउरा उपलब्ध गराउन अनुरोध गरे।

शीतलहरका कारण कञ्चनपुरको जनजीवन ठप्पजस्तै बनेको छ। बजार क्षेत्रमा चहलपहल घटेको छ भने सडकमा गुड्ने सवारीसाधन बाक्लो हुस्सुका कारण दिउँसै हेडलाइट बालेर हिँड्न बाध्य भएका छन्।

चिकित्सकहरूले चिसोबाट बच्न मनतातो पानी पिउन, न्यानो लुगा लगाउन तथा सम्भव भएसम्म घरभित्रै बस्न सुझाव दिएका छन्। स्थानीय तहहरूले चिसोबाट हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्न आ–आफ्नो तर्फबाट सचेतनामूलक कार्यक्रम अघि बढाइरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट